शरदचन्द्र शाह खेलकुद सम्मानबाट उमेश मास्के र सन्दीप लामिछाने सम्मानित

0 Shares

काठमाडौं । बक्सिङका उमेश मास्के र क्रिकेटका सन्दीप लामिछाने स्वर्गीय शरदचन्द्र शाह खेलकुद सम्मानबाट सम्मानित भएका छन्।

नेपाली खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनले मंगलबार उनीहरूलाई सम्मान गरेको हो।

सम्मानित मास्के र लामिछानेले जनही २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे।

बक्सर मास्केले सन् १९८२ को एसियन गेम्स, १९८४ को ओलम्पिक र सोही वर्ष नेपालमा भएको पहिलो दक्षिण एसियाली खेलकुदसमेत खेलेका थिए।

सम्मानित भएपछि मास्केले स्वर्गीय शाह सदस्यसचिव हुँदा खेलाडीका लागि गरेको योगदानलाई सम्झिए।

अग्रज र अनुज खेलाडीलाई एकै स्थानमा सम्मान गर्दै आएको फाउन्डेसनले वर्तमान राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई सम्मान गरेको हो।

सन्दीप हाल व्यावसायिक खेलका लागि इंग्ल्यान्डमा छन्। नेपाली टोलीका पूर्व कप्तान समेत रहेका सन्दीपले ओडीआईमा १५० विकेट लिँदै विश्व कीर्तिमान बनाएका थिए। टी(२० मा सर्वाधिक छिटो १ सय विकेटको कीर्तिमान समेत आफ्नो नाममा गरेका थिए।

सम्मान कार्यक्रममा उपस्थित नभएका लामिछानेले भिडियो सन्देशमार्फत फाउन्डेसनलाई धन्यवाद दिएका थिए।

फाउन्डेसनले हरेक वर्ष ओलम्पिक डे को दिनमा अग्रज र अनुज गरी दुई खेलाडीलाई सम्मानित गर्दै आएको छ।

सम्बन्धित समाचार