काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक कलह बढिरहेको र नेता धवलशमशेर राणाले पार्टी फुटाउने तयारी गरिरहेको चर्चा चलिरहेका बेला पार्टीका तीन पूर्वअध्यक्षले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै कार्यकर्तालाई धैर्य रहन अपिल गरेका छन् ।
शनिबार केन्द्रीय कार्यालय धुम्बाराहीबाट पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त हस्ताक्षर गर्दै यस्तो अपिल गरेका हुन् । राप्रपाका वरिष्ठ नेताहरूले पार्टीमा देखिएको पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर चिन्ता व्यक्त गर्दै संगठनलाई सुदृढ बनाएर अघि बढ्न जोड दिएका छन् ।
विज्ञप्तिमा पार्टीभित्रका समस्यालाई बहाना बनाउँदै केही व्यक्तिबाट भइरहेको पलायन र विभाजनको प्रयासलाई ‘आत्मघाती कदम’ को संज्ञा दिइएको छ । नेताहरूले भनेका छन्, अहिलेको घडीमा पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न र त्यस्तो आत्मघाती कदम नचाल्न हामी पार्टीका सम्पूर्ण साथीहरूलाई विशेष अनुरोध गर्दछौँ ।,
गत निर्वाचनमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसके पनि राप्रपाको भविष्य उज्ज्वल रहेको उनीहरूले भनेका छन् । पार्टी एकतालाई जोगाइराख्न सके छोटो समयमै हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा स्थापित गर्न सकिने भन्दै उनीहरूले कार्यकर्तालाई विचलित नहुन आह्वान गरेका छन् ।
विज्ञप्तिमा आन्तरिक समस्याको समाधान महाधिवेशनबाटै गरिने प्रतिबद्धता जनाइएको छ । आगामी जेठ महिनाको अन्तिम साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति निश्चित गर्ने र पार्टीभित्रका समस्या, विकृति तथा चुनौतीहरूलाई महाधिवेशनमार्फत नै हल गरिने पूर्वअध्यक्षहरूको भनाइ छ ।