सैनिक मञ्चबाट राष्ट्रपतिले भने – गणतन्त्र राष्ट्र निर्माणको महान् प्रेरणा र अभिभारा

0 Shares

काठमाडौं । रामचन्द्र पौडेल ले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता दिएको भन्दै यसलाई राष्ट्र निर्माणको महान् प्रेरणा र अभिभारा भएको बताएका छन् । १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले देशवासीलाई एकताबद्ध बनाएको, साझा राष्ट्र निर्माणको संकल्पमा अभिप्रेरित गरेको तथा नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिमाथिको स्वामित्वको अनुभूति दिलाएको उल्लेख गरे।

‘गणतन्त्र फगत एउटा व्यवस्था मात्र होइन, यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो,’ राष्ट्रपति पौडेलले भने, ‘यसका आफ्नै मूल्य, मान्यता र नैतिक दायराहरू छन् । ती नबुझी इतिहासको अभिभारा पूरा गर्न सकिँदैन ।’ उनले गणतन्त्रको मर्यादा जोगाउन तथा यसलाई थप समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्य–मान्यता र आचरणमा परिवर्तन आवश्यक रहेको बताए। सामाजिक न्याय, विकास र समृद्धिसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थक अभ्यासमा अघि बढ्न गणतन्त्र दिवसले थप प्रेरणा दिएको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले मुलुकमा हाल बनेको बलियो जनादेशसहितको सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई प्राथमिकतामा राखेको उल्लेख गरे। सरकारले अघि सारेका शासकीय सुधारका एक सय कार्यसूची कार्यान्वयन भएपछि जनतामा आशा जाग्ने विश्वास समेत उनले व्यक्त गरे।

राजनीतिक परिवर्तन मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उनले राज्यसत्ताको चरित्र, राजनीतिक संस्कार र शासकीय व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको बताए। ‘आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरु कोही होइन, ढिलासुस्ती, अनियमितता र वेथिति हुन्,’ उनले भने।

नागरिकले अहिले सुशासनसहितको समृद्धि खोजिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र संसारकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको दाबी गर्दै नेपालको संविधानले यसलाई संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक समाजवादका मान्यतामार्फत अझ उन्नत बनाएको बताए।

‘यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ र राज्यशक्तिको स्रोत नागरिक नै हुन् भन्ने स्थापित गरेको छ,’ उनले भने।

स्थानीय र प्रदेश सरकारमार्फत नागरिकको घरआँगनमै सार्वभौमिकताको अभ्यास भइरहेको उल्लेख गर्दै उनले लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुने मान्यता व्यवहारमै कार्यान्वयन भइरहेको धारणा राखे।

सम्बन्धित समाचार