काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता भएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा दुवै पक्षबीच सातबुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दर्विराम परियारले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार दुवै पार्टीले जनआन्दोलनको मर्म, सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वको मुद्दालाई साझा राजनीतिक एजेण्डाका रूपमा अघि बढाउने भएका छन् । साथै भ्रष्टाचार र कुशासनविरुद्ध संयुक्त रूपमा संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ ।
दलित समुदायमाथि हुने जातीय विभेद, छुवाछूत, अपमान र बहिष्करण अन्त्यका लागि नीतिगत तथा व्यवहारिक पहल गर्ने सहमति पनि भएको छ । राज्यका निकाय र पार्टी संगठनमा दलित समुदायको जनसंख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित गर्ने विषय सहमति पत्रमा उल्लेख गरिएको छ ।