काठमाडौँ । नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) सार्वजनिक गरेको छ । गत जेठ ४ गते शुरु भएर १० गते सकिएको सचिवालय बैठकको निर्णयसहित अपानि सार्वजनिक गरिएको हो । उक्त अपानिअनुसार एमालेले प्रचार विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य निरज आचार्यलाई दिएको छ । पार्टीको प्रचार फाँटसम्वद्ध जनसंगठन प्रेस चौतारी नेपालको इञ्चार्जमा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तोकिएको छ ।
सरकार स्वेच्छाचारी
एमालेले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढेको निष्कर्ष निकालेको छ। पार्टीले सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संसदीय प्रणाली तथा स्वतन्त्र सञ्चारमाध्यममाथि दबाब सिर्जना गरेको आरोप लगाएको छ ।
एमालेले सरकार गठन भएदेखि संसद् कमजोर पार्ने, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने तथा सुकुम्बासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएको छ। पार्टीले सरकारका यस्ता गतिविधिविरुद्ध सदन र सडक दुवै ठाउँबाट विरोध अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
उता एमालेले निर्वाचनमा बेहोरेको पराजयको समीक्षा गर्दै पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामलाई गम्भीर रूपमा समीक्षा गरिएको बताउँदै वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा पार्टीलाई पुनः सुदृढ बनाउन कार्यदल गठन गरिएको जानकारी दिएका छन्।एमालेले पार्टीभित्र एकता, अनुशासन र संगठनात्मक सक्रियता बढाएर पुनर्जागरण र पुनरुत्थान सम्भव रहेको निष्कर्ष निकालेको छ।
यस्तै, एमालेले ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको वरीयता निर्धारण गरेको छ। निर्धारित वरीयताअनुसार अध्यक्षमा केपी शर्मा ओली, पहिलो उपाध्यक्षमा रामबहादुर थापा, दोस्रो उपाध्यक्षमा विष्णु पौडेल, तेस्रो उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, चौथो उपाध्यक्षमा गोकरण विष्ट र पाँचौँ उपाध्यक्षमा रघुजी पन्त रहेका छन्।
महासचिवमा शंकर पोखरेल तथा उपमहासचिवहरूमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ रहेका छन्। एमालेले संगठन सुदृढीकरणका लागि देशव्यापी ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।
अभियानअन्तर्गत केन्द्रीय सदस्य तथा नेताहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहमा जिम्मेवारी तोकिने भएको छ।पार्टीले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र सदस्यता नवीकरण अभियानलाई तीव्र बनाउने जनाएको छ ।