काठमाडौं । जारी महिला एशिया कपमा नेपाल भारतसँग ८२ रनले पराजित हुँदै बाहिरिएको छ । आज भएको खेलमा भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनाएको हो ।
टस जितेर पहिला ब्याटिङ्ग गरेको भारतले २० ओभरमा तीन विकेट गुमाउँदै १७८ रन बनाएको थियो । भारतका लागि सेफाली बर्माले सर्वाधिक ८१ रन बनाएकी थिइन् ।
दयालान हेमालताले ४७ रन बनाउँदा जेमीनाह रोड्रीगेजले २८ र संजीवन सजनाले १० रन बनाएकी थिइन् ।
त्यसैगरी नेपाली बलर सिता राना मगरले २ र कविता जोशीले एक विकेट लिएकी थिइन् ।
जवाफी ब्याटिङ्गमा उत्रिएको नेपालले जम्मा ९६ रन मात्रै बनाएको हो । नेपालका लागि सीता राना मगरले जम्मा १८ रन बनाइन् । विन्दु रावलले १७ र रूविना क्षेत्रीले १५ रन बनाइन् ।
भारतका लागि दिप्ती शर्माले ३ तथा अरून्धती रेड्डी र राधा यादवले २-२ विकेट लिए । आजको खेलमा पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।