टी २० विश्वकपमा नाम राखेको भन्दै सन्दीप लामिछानेलाई सम्मान

0 Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लेग स्पिनर सन्दीप लामिछानेलाई भरतपुर महानगरले सम्मान गरेको छ ।

मंगलबार एक विशेष कार्यक्रम आयोजना गरी एक लाख रुपैयाँ नगदसहित उनलाई सम्मान गरेको हो ।

भरतपुर महानगरवासीको हैसियतमा टी २० विश्वकप क्रिकेट खेलेको भन्दै लामिछानेलाई सम्मान गरेको जनाइएको छ । उनले भरतपुर महानगरभित्र घर बनाउने तयारी गरेका छन् ।

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्किएका सन्दीपले राम्रो क्रिकेट खेलेर देशको इज्जत बढाएकाले महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रूपमा सम्मान गरेका हुन् ।

टी २० विश्वकपमा नेपालले तीन खेल खेलेको थियो । एक खेल पानीका कारण स्थगित भएको थियो । सन्दीपले भने दुई खेलमा सहभागी जनाएका थिए ।

आयोजक राष्ट्र वेष्ट इण्डिजले भिसा दिए पनि सहआयोजक अमेरिकाले भिसा नदिएपछि उनले अमेरिकामा भएको खेलमा सहभागी हुन पाएनन् ।

प्रतियोगितामा सन्दीपले बंगलादेशविरुद्ध दुई विकेट लिँदै विश्व कीर्तिमान बनाए । उनले आफ्नो करिअरमा सबैभन्दा कम खेल खेलेर टी २० फम्र्याटमा एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका थिए । उनले ५४ बल खेलेर उक्त रेकर्ड बनाएका हुन् । यसअघि उनले एक दिवसीय फम्र्याटमा ४२ खेल खेल्दै सय विकेट लिएर कीर्तिमान बनाएका थिए ।

टी २० क्रिकेटमा सन्दीपभन्दा कम खेल खेलेर सय विकेट लिनेमा अफगानिस्तानका रसिद खान पहिलो स्थानमा रहेका छन् । उनले ५३ खेलमा १०० विकेट बनाएको रेकर्ड रहेको छ ।

सम्बन्धित समाचार