काठमाडौं । आफूहरू ‘प्रहरी निरीक्षक’ भएको बताउँदै चौकीमा सोधपुछका लागि बोलाइएका व्यक्तिलाई मुद्दा नचलाई छुटाइदिने प्रलोभन देखाएर २ लाख रूपैयाँ माग्ने पाँच जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका-९, वीरेन्द्र चोकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका-२ घर भई हाल काठमाडौंको चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ घर भई काठमाडौंको कपन बस्ने २९ वर्षीय इन्द्रबहादुर भुजेल र पाल्पाको तानसेन नगरपालिका-६ घर भई काठमाडौंको हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज रानाभाट रहेका छन्।
त्यस्तै, सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ घर भई भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका-२ घर भई काभ्रेपलाञ्चोकको बनेपा बस्ने ३० वर्षीय हर्कसिंह भोलनलाई पनि प्रहरीले पक्राउ गरेको छ।
३ दिनअघि करिब २ बजे एक जना व्यक्तिलाई सोधपुछका लागि प्रहरी प्रभागमा बोलाइएको थियो। सोही क्रममा उनलाई भेट्न पुगेका भाइसँग त्यहाँ रहेका ती व्यक्तिहरूले आफूहरू इन्स्पेक्टर भएको भन्दै चिनजान गरेका थिए ।
उनीहरूले २ लाख रूपैयाँको व्यवस्था गरेमा दाजुविरुद्ध मुद्दा नचलाई छुटाइदिने भन्दै रकम माग गर्नुका साथै होटलको खर्चसमेत तिर्न लगाएको प्रहरीले जनाएको छ ।
पीडितले मागिएको २ लाख रूपैयाँ दिन इन्कार गरेपछि आरोपितहरूले फोन तथा म्यासेजमार्फत विभिन्न किसिमका धम्की दिई मानसिक र आर्थिक तनाव दिएको प्रहरीको भनाइ छ । उक्त सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीको टोलीले पाँचै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूविरुद्ध ‘अभद्र व्यवहार गर्न नहुने कसुर’ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए ।