हुण्डीसम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२६ सार्वजनिक

0 Shares

काठमाडौं । वित्तीय जानकारी इकाईले हुण्डी कारोबारसम्बन्धी ‘Strategic Analysis Report, 2026: Hundi’ सार्वजनिक गरेको छ । कुनै निश्चित मुद्दा, संस्था वा व्यक्तिमा केन्द्रित नभई प्रतिवेदनले हुण्डी कारोबारका प्रवृत्ति, प्रकार तथा प्रयोग भइरहेका विधिको पहिचान र विश्लेषण गरेको छ ।

प्रतिवेदनको मुख्य उद्देश्य हुण्डी कारोबारका प्रवृत्ति तथा विधिको विश्लेषण गर्नुका साथै यसमार्फत हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानीको जोखिमबारे बुझाइ अभिवृद्धि गर्नु रहेको छ। साथै हुण्डी कारोबारसम्बन्धी ‘रेड फ्ल्याग इन्डिकेटर’ अद्यावधिक गर्ने तथा हुण्डी नियन्त्रणका लागि सम्बद्ध निकाय र सरोकारवालाले चाल्नुपर्ने कदमसम्बन्धी सुझावसमेत प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले हुण्डीमार्फत मानव तथा लागूऔषध तस्करी, भ्रष्टाचार र करछलीजस्ता आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति शुद्धीकरण हुने तथा आतंककारी गतिविधिमा वित्तीय लगानी हुन सक्ने जोखिम देखाएका छन् । परम्परागत रूपमा हुण्डी कारोबारको फर्छ्योट द्विपक्षीय समायोजन (Bilateral Offsetting) तथा वस्तु वा मूल्यका माध्यमबाट हुने गरेकोमा पछिल्लो समय औपचारिक बैंकिङ तथा डिजिटल माध्यमको प्रयोगसमेत बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

वित्तीय जानकारी इकाईको goAML प्रणालीमा २०२५ जनवरी २ देखि २०२६ जुलाईसम्म प्राप्त हुण्डीसम्बन्धी शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन (STRs/SARs) को विस्तृत विश्लेषण प्रतिवेदनमा गरिएको छ। उक्त विश्लेषणअनुसार २५ देखि ४४ वर्ष उमेर समूहका युवा तथा खुद्रा व्यापारमा संलग्न व्यक्ति र विप्रेषण कारोबार गर्ने सबएजेन्टहरू हुण्डी कारोबारमा बढी संलग्न हुने गरेको देखिएको छ ।

नेपालमा हुण्डी कारोबारका क्रममा ‘म्युल अकाउन्ट’ प्रयोग गर्ने, नगद कारोबारको सीमा छल्न रकमलाई टुक्र्याएर जम्मा गर्ने, कानुनी व्यक्तिको प्रयोग गर्ने, क्रिप्टोकरेन्सीमार्फत कारोबार गर्ने, नगद ओसारपसार गरी भुक्तानी गर्ने, विप्रेषण कारोबारका सबएजेन्ट प्रयोग गर्ने तथा डिजिटल प्रविधिको प्रयोग गर्नेजस्ता विधि देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले सूचक संस्था, नियामक तथा सुपरिवेक्षक, कानून कार्यान्वयन गर्ने निकाय र नीति निर्माण तथा समन्वय गर्ने निकायलाई लक्षित गर्दै विभिन्न सुझावसमेत दिएको छ । सुझावमा STRs/SARs को गुणस्तर सुधार, जोखिममा आधारित निगरानी, अन्तरनिकाय समन्वय, प्राविधिक क्षमता अभिवृद्धि तथा हुण्डीसम्बन्धी जनचेतना विस्तारलगायतका विषय समेटिएका छन् ।

सम्बन्धित समाचार