काठमाडौं । आर.एम.सी. फुड्स प्रा.लि.ले दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ । कम्पनी आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरअन्तर्गत उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको हो ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट सबैभन्दा बढी रकमको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ सम्मानसमेत प्राप्त गरेको छ । ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ मंसिर ७ गते आयोजित राष्ट्रिय कर दिवस–२०८३ को विशेष समारोहमा कम्पनीका निर्देशक यश अग्रवाललाई सम्मानपत्र प्रदान गरिएको थियो।
आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत मुकुन्द पोखरेल र आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले संयुक्त रूपमा हस्ताक्षर गरेको सम्मानपत्र उनलाई प्रदान गरिएको हो ।
त्यस्तै, ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ मंसिर ९ गते काठमाडौंमा आयोजित १२औँ उद्योग दिवसको विशेष समारोहमा कम्पनीलाई ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ सम्मान प्रदान गरिएको हो। भन्सार विभागको सिफारिसका आधारमा प्रदान गरिएको उक्त सम्मान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कम्पनीका प्रतिनिधिलाई प्रदान गरेका थिए। मन्त्रालयका सचिव रुद्रसिंह तामाङले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
आर.एम.सी. ग्रुपअन्तर्गत सञ्चालित आर.एम.सी. फुड्सले बाराको जीतपुरस्थित अत्याधुनिक उद्योगबाट प्रशोधित खाद्य तेल, विशेषगरी ‘Nutriplus’ ब्रान्डलगायत विभिन्न खाद्य सामग्री उत्पादन तथा निर्यात गर्दै आएको छ ।
नेपाल उद्योग परिसंघ (CNI) का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले सरकारी सम्मानले स्वदेशी उत्पादनको गुणस्तर अभिवृद्धि गर्न तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहुँच विस्तार गर्न थप ऊर्जा मिलेको बताए । उनले व्यापार घाटा न्यूनीकरण तथा दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धनमा कम्पनीको प्रतिबद्धता निरन्तर रहने उल्लेख गरे ।