भिसा इन्टरनेसनलबाट नबिल बैंक २ विधामा सम्मानित

0 Shares

काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेसनलद्वारा प्रदान गरिने दुई महत्वपूर्ण विधामा अवार्ड जितेको छ। बैंकले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इस्युइङ’ (Excellence in Contactless – Issuing) र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ (Excellence in E-Commerce Acquiring Business Principal Client) विधामा अवार्ड प्राप्त गरेको हो।

काठमाडौंस्थित मेरियट होटलमा सोमबार आयोजित भिसा लिडरसिप कन्क्लेभमा नबिल बैंकका प्रतिनिधिले उक्त अवार्ड ग्रहण गरेका थिए। बैंकले यसअघि पनि यी विधामा आफ्नो वर्चस्व कायम गर्दै आएको जनाएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले यी अवार्डले ग्राहकको सुविधा र सहजतालाई केन्द्रमा राख्दै निरन्तर नवीनता तथा नवप्रवर्तन आत्मसात् गर्न थप ऊर्जा मिलेको बताए।

‘हामीलाई यी अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन थप प्रेरणा प्रदान गरेको छ,’ उनले भने।

भिसा इन्टरनेसनल कार्ड प्रदान गर्ने कम्पनी हो। नेपालमा भिसाले बर्सेनि भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ। नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा भिसाले महत्वपूर्ण उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको छ।

नबिल बैंक नेपालको अग्रणी बैंकमध्ये एक हो। चार दशकभन्दा लामो बैंकिङ यात्रामा बैंकले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ।

ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसहित बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको छ।

बैंकले देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार