काठमाडौं । आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अभियोगमा जेल परेका नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझीले ६ महिनापहिले कैद मुक्त हुने भएका छन् ।
उनले जेष्ठ नागरिकसम्बन्धी ऐनअनुसार उमेर ६५ वर्ष पुगेका कैदीबन्दीले पाउने २५ प्रतिशत कैद छुट दिन माग गर्दै रायमाझीका तर्फबाट ‘जेष्ठ नागरिकको सुविधा पाउँ’ भन्ने निवेदन दर्ता गरिएको थियो ।
उनको पक्षमा कात्तिक १२ गते दर्ता भएको निवेदनमा शुक्रबार अर्थात कात्तिक १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले सुनुवाइ गर्दै माग बमोजिमको सुविधा दिलाउन आदेश आएको थियो ।
सोही आदेशमा टेकेर उनले ६५ वर्ष पुग्नासाथ रिहा हुने भएका हुन् । जेष्ठ नागरिकसम्बन्धी ऐन तथा कारागारसम्बन्धी कानुनमा उमेरका आधारमा कैदीलाई विशेष कैद छुट्को व्यवस्था छ ।
६५ वर्ष पूरा भई ७० वर्ष ननाघेका कैदीले २५ प्रतिशतसम्म कैद छुट पाउन सक्ने छन् । ७० वर्ष पूरा भई ७५ वषर्न ननाघेका कैदीले ५० प्रतिशत र ७५ वर्षभन्दा बढी उमेरका कैदीले ७५ प्रतिशत कैद छुट पाउने व्यवस्था छ ।
रायमाझीलाई नक्कली शरणार्थी सम्बन्धी मुद्दामा ४ वर्ष कैदको फैसला भएको छ । सोही फैसलाका आधारमा उनी २०८० वैशाखदेखि थुनामा थिए । उनको कैद भुक्तान २०८४ वैशाखमा पूरा हुँदै छ ।
उनले ६५ वर्ष पूरा भएपछि चार वर्षको २५ प्रतिशतसम्म अर्थात एक वर्ष नै कैद छुट पाउन सक्थे । तर, उनको बाँकी कैद ६ महिना मात्रै रहेकाले त्यतिनै छुट्को आदेश भएको हो । उनी कात्तिक २६ गते ६५ वर्ष पुग्ने भएसँगै त्यसै दिन थुनामुक्त हुने छन् । उनी हाल डिल्लीबजार कारागारमा छन् ।