प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका–६, तोरवाङमा वडा स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ।
मर्कावाङस्थित गोयली खेलमैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले उद्घाटन गरेको हो।
प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष महतरा क्षेत्रीले खेलकुदले स्थानीय खेलाडीको प्रतिभा पहिचान र विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले वडा तहबाटै नवप्रतिभा खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
प्रतियोगिताले स्थानीय स्तरमा भलिबल खेलको प्रवर्द्धन गर्नुका साथै विभिन्न स्थानका खेलाडीबीच आपसी सद्भाव र सम्बन्ध विस्तारमा समेतमा योगदान पुर्याउने अपेक्षा अध्यक्ष महतरा क्षेत्रीले गरेको छ।
वडा अध्यक्ष धनबहादुर पुनका अनुसार प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ५ गरी २१ टोलीले सहभागिता जनाएका छन्। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १६ हजार, १२ हजार र ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। दुवै विधाका विजेता तथा उपविजेता टोलीलाई मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई १ हजार ५०० रुपैयाँ, अनुशासित खेलाडीलाई १ हजार रुपैयाँ र म्यान अफ द म्याच हुने खेलाडीलाई १ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
वडा अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय खेलाडी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।