काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेल दिउँसो साढे १२ र दोस्रो खेल साँझ ५ बजे हुनेछ । प्रतियोगितामा अंक तालिकाको अन्तिममा रहेको काठमाडौंले आफ्नो पहिलो जित निकाल्ने दाउमा हुनेछ । पहिलो खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
अंक तालिकाको पहिलो स्थानमा रहेको कर्णाली याक्स लगातार तेस्रो जित निकाल्दै शीर्षमै रहन चाहन्छ । यसअघिका दुवै खेल कर्णालीले जितेको थियो ।
सुदूरपश्चिम रोयल्सका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ । सुदूरपश्चिमले हालसम्म खेलेका ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ ।
चितवन भने प्रतियोगितामा अहिलेसम्म अपराजित छ । पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो ।