काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा गैरकानुनी रूपमा बसोबास गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना बंगलादेशी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
एपीएफ इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गण मुख्यालय (विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण प्रतिष्ठान सुरक्षा), बाघभैरव काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरी नायब निरीक्षक गणेश न्यौपानेको नेतृत्वमा खटिएको टोलीले आइतबार दिउँसो नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थानमा बुझाएको जनाएको छ।
पक्राउ पर्नेमा ५७ वर्षीय मोहम्मद कुर्वान अलि र ३८ वर्षीय जाहिंगिर आलम रहेका छन्। उनीहरू काठमाडौं महानगरपालिका–२६, गोल्कोपाखास्थित एक घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए। प्रहरी टोलीले उनीहरूलाई सोही कोठाबाट नियन्त्रणमा लिएको हो।
त्यस्तै, काठमाडौं महानगरपालिका–१६, नयाँबजारस्थित एकताबस्तीको घरबाट ४६ वर्षीय रोनित रोय चौधरी, बंगलादेशी मूलका ३७ वर्षीय ब्राजिलियन नागरिक रिफत मियाँ र ४४ वर्षीय अकम अब्दुल्लाहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार मोहम्मद कुर्वान अलि, रिफत मियाँ र अकम अब्दुल्लाहको भिसा अवधि समाप्त भइसकेको थियो। उनीहरू अवैध रूपमा नेपालमा बसिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस्तै, रोनित रोय चौधरी र जाहिंगिर आलममाथि बंगलादेशी नागरिकलाई बन्धक बनाई फिरौती रकम असुल्ने गरेको आशंका गरिएको छ। रोनितको कोठाबाट नौ जना बंगलादेशी नागरिकका १४ थान राहदानी फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। ती राहदानीका धनीहरूको भिसा अवधि समाप्त भइसकेको र उनीहरूलाई नेपालमै लुकाएर राखिएको हुन सक्ने आशंका गरिएको छ।
टोलीले रोनितको कोठाबाट ठूलो रकमको आर्थिक कारोबारको विवरण उल्लेख भएका दुई थान डायरीसमेत बरामद गरेको छ। उनी विगतदेखि नै अवैध हुण्डी कारोबारमा संलग्न रहेको सूचनासमेत एपीएफ इन्टेलिजेन्स ब्यूरोमा प्राप्त भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
त्यसैगरी, जाहिंगिर आलमको कोठाबाट एक जना बंगलादेशी नागरिकको राहदानी र अन्य ४६ जना बंगलादेशी नागरिकका राहदानीका फोटोकपी फेला परेको छ। उक्त राहदानीको भिसा अवधि दुई वर्षअघि नै समाप्त भएको जनाइएको छ।
आलममाथि एक बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको छ। उनी २०८० चैत १३ गतेदेखि अदालतमा तारिखमा रहँदै आएको विवरणसमेत सार्वजनिक गरिएको छ।
सशस्त्र प्रहरीले बरामद गरेका राहदानी, आर्थिक कारोबारका अभिलेख तथा अन्य सामग्रीका आधारमा थप अनुसन्धान आवश्यक रहेको जनाएको छ। पक्राउ परेका पाँचै जनालाई अध्यागमन विभागमा बुझाइएसँगै उनीहरूको नेपाल बसाइको वैधता र शंकास्पद गतिविधिबारे थप अनुसन्धान हुने बताइएको छ।