काठमाडौं । टी २० विश्वकपमा भारतसँग पाकिस्तान लज्जास्पद हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा ११९ रनमै सिमित भारतले पाकिस्तानलाई ६ रनले हराएको हो ।
भारतले दिएको १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा सात विकेट गुमाएर ११३ रन मात्र बनाएपछि भारतले लगातार दोस्रो जित निकालेको हो ।
खेलमा प्लेयर अफ द म्याच जसप्रित बुमराह चार ओभरमा १४ रन मात्रै दिएर तीन विकेट लिए । पाकिस्तानलाई ३० बलमा ३७ रन चाहिएको अवस्थामा ६ विकेट बाँकी थियो । तर, भारतीय बलरले ३० रन दिएर पाकिस्तानलाई ११३ रनमा सीमित बनाउन सफल भएको हो ।
टी २० विश्वकपका आठ खेलमा पाकिस्तानमाथि भारतको यो सातौँ र ओडीआई टी २० विश्वकपसहित १६ खेलमा पाकिस्तानमाथि भारतको १५ औँ जित हो ।
यो जितपछि समूह एमा रहेको भारत २ खेलमा ४ अंक हासिल गर्दै शीर्ष स्थानमा छ । पाकिस्तान लगातार दोस्रो हार बेहोरेको छ । पाकिस्तानले पहिलो खेलमा अमेरिकासँग हारेको थियो ।