तिहारमा फूलका माला र गमलाको कारोबार साढे ६४ करोड पुग्ने प्रक्षेपण, सयपत्रीका ५ लाख माला अपुग हुने

0 Shares

काठमाडौं । यस वर्षको तिहारमा फूलका माला, जीवित फूलका पोली र गमलाको कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार तिहारमा सयपत्री, मखमली, गोदावरी र विभिन्न फूल मिसाएर तयार गरिने ५१ लाख ८० हजार माला खपत हुने अनुमान छ । त्यस्तै, सयपत्रीका पोली र गोदावरीका गमलाको कारोबारबाट मात्रै १६ करोड ५० लाख रुपैयाँको व्यापार हुने अपेक्षा गरिएको छ ।

एसोसिएसनले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यस वर्ष तिहारमा सयपत्रीका ४५ लाख, मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुनेछन् । यी मालाको कुल कारोबार ४८ करोड रुपैयाँ पुग्ने अनुमान छ । मालामध्ये सबैभन्दा बढी कारोबार सयपत्रीको हुनेछ । ४५ लाख सयपत्री मालाको औसत थोक मूल्य प्रतिमाला ९० रुपैयाँका दरले यसको कारोबार ४० करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । त्यस्तै, ६ लाख मखमली मालाको औसत थोक मूल्य ४५ रुपैयाँका दरले २ करोड ७० लाख रुपैयाँको कारोबार हुनेछ ।

गोदावरी मालाको औसत थोक मूल्य प्रतिमाला १ हजार २०० रुपैयाँ कायम हुँदा २० हजार मालाबाट २ करोड ४० लाख रुपैयाँको कारोबार हुने अनुमान छ । विभिन्न फूल मिसाएर बनाइने ६० हजार मिक्स मालाको औसत थोक मूल्य ४०० रुपैयाँका दरले यसको कारोबार पनि २ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

सयपत्रीको माग धान्न ५ लाख माला अपुग

गत वर्षको तिहारमा व्यावसायिक रुपमा उत्पादित करिब ४० लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष उत्पादन तथा बजार विस्तारका कारण ४५ लाख माला कारोबार हुने अनुमान गरिएको छ । तर, असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले केही क्षेत्रमा सयपत्री खेतीमा क्षति पुर्‍याएको छ ।

एसोसिएसनका अनुसार यस वर्ष आन्तरिक उत्पादनबाट करिब ४० लाख सयपत्री माला बराबरको आपूर्ति हुने अनुमान छ । यस आधारमा अनुमानित माग पूरा गर्न करिब ५ लाख माला अपुग हुने देखिन्छ । उक्त माग व्यवस्थापन गर्न स्थानीय तथा ग्रामीण क्षेत्रबाट उत्पादित फूल बजारसम्म पुर्‍याउने र आवश्यक परे अपुग फूलको व्यवस्थापन गर्ने पहल भइरहेको एसोसिएसनका अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए ।

हाल सातै प्रदेशका विभिन्न जिल्लामा २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती भइरहेको छ । ग्रामीण तथा उत्पादन क्षेत्रमा सयपत्रीको माग लगभग पूर्ण रुपमा स्वदेशी उत्पादनबाटै धान्न सकिने अवस्था रहे पनि मुख्य सहरी तथा बजार केन्द्रित क्षेत्रमा करिब ८८.८९ प्रतिशत माग मात्रै आन्तरिक उत्पादनबाट पूरा हुने अनुमान छ ।

मखमली फूलमा आत्मनिर्भर

यस वर्ष तिहारमा मखमली मालाको बजार ६ लाख वटाको हुने अनुमान गरिएको छ । त्यसमध्ये करिब ४ लाख माला आन्तरिक बजारमा खपत हुने र २ लाख माला निर्यात हुने अपेक्षा गरिएको छ । एसोसिएसनका अनुसार मखमली फूलको उत्पादनमा नेपाल आन्तरिक माग पूरा गर्न सक्षम छ ।
काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी–बडिखेल, धादिङ, पाल्पा, कैलाली र इलामलगायत क्षेत्रमा मखमली फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ ।

पोली र गमलाबाट साढे १६ करोडको कारोबार

तिहारमा मालासँगै घर, आँगन, कार्यालय तथा व्यावसायिक परिसर सजाउन प्रयोग गरिने जीवित फूलका पोली र गमलाको माग पनि उल्लेख्य हुने गरेको छ । यस वर्ष ३५ लाख सयपत्री फूलका पोली वा बोट बिक्री हुने अनुमान छ । प्रतिपोली औसत ३० रुपैयाँका दरले यसको कारोबार १० करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

त्यस्तै, ८ लाख गोदावरी फूलका गमला बिक्री हुने अनुमान गरिएको छ । प्रतिगमला औसत ७५ रुपैयाँका दरले यसको कारोबार ६ करोड रुपैयाँ पुग्नेछ । यसरी सयपत्रीका पोली र गोदावरीका गमलाबाट मात्रै १६ करोड ५० लाख रुपैयाँको कारोबार हुने अनुमान छ ।

सयपत्री फूलको व्यावसायिक उत्पादन काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, झापा, इलाम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ र कैलालीलगायत जिल्लामा विस्तार भइरहेको छ ।

एसोसिएसनका अध्यक्ष राजेश भक्त श्रेष्ठले तिहारमा आवश्यक फूलको माग सकेसम्म स्वदेशी उत्पादनबाटै पूरा गर्न उपभोक्ता, व्यापारी तथा सरोकारवालालाई आग्रह गरेका छन् । केही क्षेत्रमा अविरल वर्षाका कारण सयपत्री खेतीमा क्षति पुगे पनि विभिन्न उत्पादन क्षेत्रबाट बजारमा फूल आपूर्ति भइरहेको उनले जानकारी दिए ।

उत्पादन क्षेत्रबाट बजार केन्द्रसम्म फूलको सहज ढुवानी, उचित मूल्य निर्धारण र बजार व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको एसोसिएसनले जनाएको छ । तिहारमा स्वदेशी फूलको प्रयोग बढाउँदा नेपाली कृषक तथा पुष्प व्यवसायीको आम्दानी वृद्धि, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पुष्प व्यवसायको वार्षिक कारोबार ३ अर्ब ९४ करोड

नेपालमा पुष्प व्यवसायको वार्षिक कारोबार ३ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी पुगेको अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएकोमा चालु आर्थिक वर्ष २०८२/८३ मा कारोबार १६.९१ प्रतिशतले बढेको हो ।

नेपालमा २०११ सालदेखि सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायले २०४९ सालमा फ्लोरिकल्चर एसोसिएसन नेपालको स्थापना भएपछि व्यावसायिक विस्तार र प्रवर्द्धनमा गति लिएको हो । हाल सातै प्रदेशमा पुष्प व्यवसाय विस्तार भएको छ । देशका ५४ जिल्लामा ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा फूलखेती भइरहेको छ ।

एसोसिएसनका अनुसार यस व्यवसायमा नर्सरी व्यवसायी ५९४, कट फ्लावर उत्पादक ११०, कट फ्लावर खुद्रा व्यवसायी २९१, पुष्प थोक व्यवसायी ७, इनपुट सप्लायर्स २५ र खुला फूल उत्पादक ४१८ गरी १ हजार ४४५ भन्दा बढी व्यवसायी संलग्न छन् । पुष्प व्यवसायमा ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको अनुमान छ । यस क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ६२ हजार ५०० भन्दा बढीले रोजगारी पाएका छन् ।

केही अपवादका वर्षबाहेक पुष्पको माग र आपूर्तिमा वार्षिक १० देखि १५ प्रतिशत वृद्धि हुँदै आएको छ । तर, आन्तरिक उत्पादनको वृद्धिदर भने वार्षिक ७ देखि ९ प्रतिशत हाराहारीमा मात्रै रहेको एसोसिएसनले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा देशको आर्थिक अवस्था, पुष्प प्रवर्द्धन नीति २०६९ कार्यान्वयन नहुनु र कृषि क्षेत्रका केही नीतिमा भएको परिवर्तनका कारण पुष्प तथा पुष्पजन्य वस्तु उत्पादनका लागि आवश्यक बीउबिजन र मदर प्लान्ट आयातमा समस्या भएको थियो ।

समयमा उत्पादन सामग्री आयात गर्न नसक्दा आन्तरिक उत्पादन घट्नुका साथै वार्षिक कारोबारमा समेत असर परेको एसोसिएसनको भनाइ छ ।

आर्थिक वर्ष २०८२/८३ मा पुष्प व्यवसायअन्तर्गत सिजनल फूलबिरुवाबाट २८ करोड ७७ लाख रुपैयाँ, आलंकारिक बोटबिरुवाबाट १ अर्ब १२ करोड १९ लाख रुपैयाँ, कट फ्लावरबाट ७९ करोड ३९ लाख रुपैयाँ र ल्यान्डस्केप तथा गार्डेनिङबाट २९ करोड २६ लाख रुपैयाँ कारोबार भएको अनुमान छ ।

त्यस्तै, खुला फूलबाट १५ करोड रुपैयाँ, सयपत्री तथा मखमली मालाबाट ९१ करोड ६९ लाख रुपैयाँ, सामग्री आपूर्तिबाट २५ करोड २७ लाख रुपैयाँ र कार्पेट ग्रास, बल्ब, राइजोम, ट्युबर तथा टिस्यु कल्चरलगायत अन्य उत्पादनबाट ११ करोड ६६ लाख रुपैयाँ कारोबार भएको अनुमान गरिएको छ । सो अवधिमा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात कारोबार १ करोड १५ लाख रुपैयाँ रहेको एसोसिएसनले जनाएको छ ।

निर्यातभन्दा आयात २२ गुणा बढी

भन्सार विभागको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार नेपालबाट १ करोड १५ लाख ७८ हजार रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको २ करोड १३ लाख ६० हजार रुपैयाँको तुलनामा ४५.७९ प्रतिशत कम हो । नेपालबाट मुख्य रुपमा बल्ब, राइजोम, जीवित बिरुवा, ड्राइ फ्लावर र कट फ्लावर अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा तथा भुटानलगायत देशमा निर्यात हुने गरेका छन् ।

यसैगरी, सोही अवधिमा २६ करोड १३ लाख ७२ हजार रुपैयाँ बराबरका पुष्प तथा पुष्पजन्य वस्तु आयात भएका छन् । अघिल्लो आर्थिक वर्षमा १२ करोड ७० लाख ८९ हजार रुपैयाँको आयात भएकोमा यस वर्ष आयात १०५.६६ प्रतिशतले बढेको हो । नेपालमा मुख्य रुपमा जीवित बिरुवा, जरा नभएका कटिङ तथा स्लिप, विभिन्न फूलका बीउबिजन, ताजा कट फ्लावर, बल्ब र ट्युबरलगायत वस्तु आयात हुने गरेका छन् ।

भारत, नेदरल्यान्ड्स, चीन, जापान, जर्मनी, केन्या, थाइल्यान्ड, भियतनाम, अमेरिका, इजिप्ट, युगान्डा, बेल्जियम, इटाली, संयुक्त अरब इमिरेट्स, ताइवान र इजरायललगायत देशबाट पुष्प तथा पुष्पजन्य वस्तु आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । वार्षिक आयात–निर्यातको तथ्यांकअनुसार पुष्प तथा पुष्पजन्य वस्तुको आयात निर्यातभन्दा करिब २२ गुणा बढी छ ।

यसले नेपाली पुष्प व्यवसायमा आयातमा निर्भरता उच्च रहेको देखाउँछ । विशेषगरी फूलका बीउबिजन, मदर प्लान्ट तथा कट फ्लावरमा विदेशी उत्पादनमाथिको निर्भरता कायम छ । समग्रमा नेपालको पुष्प व्यवसाय विस्तार हुँदै गएको, रोजगारी सिर्जना गरेको र उच्च सम्भावना बोकेको कृषि उद्योगका रुपमा विकसित भइरहेको देखिन्छ । आलंकारिक बिरुवा, कट फ्लावर तथा माला उत्पादन यस क्षेत्रका प्रमुख आधार बनेका छन् ।

यद्यपि आयातमा उच्च निर्भरता, न्यून निर्यात, उत्पादन सामग्री आयातसम्बन्धी नीतिगत जटिलता तथा आधुनिक प्रविधि र पूर्वाधारको अभाव यस क्षेत्रका प्रमुख चुनौती हुन् । पुष्प प्रवर्द्धन नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, गुणस्तरीय बीउबिरुवा उत्पादन, अनुसन्धान, बजार व्यवस्थापन र निर्यात प्रवर्द्धनमा लगानी बढाउने हो भने पुष्प व्यवसायले आयात प्रतिस्थापन गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा थप योगदान पुर्‍याउन सक्ने सम्भावना छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारलगायत पर्वमा स्वदेशी फूलको प्रयोग बढाउन उपभोक्ता, व्यापारी तथा सरोकारवालालाई आग्रह गरेको छ । स्वदेशी फूलको प्रयोगले नेपाली कृषक तथा पुष्प व्यवसायीको आम्दानी बढाउन, रोजगारी सिर्जना गर्न र आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने एसोसिएसनको भनाइ छ ।

सम्बन्धित समाचार