काँकडभिट्टाबाट तीन महिनामा हजार जना मात्रै पर्यटक भित्रिए

0 Shares

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन् । असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका हुन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को साउन महिनामा २८१ जना र भदौ महिनामा २२० विदेशी पर्यटक पूर्वीनाकाबाट नेपाल भित्रिएका छन् । पूर्वीनाकाबाट भुटान, अमेरिका, अस्ट्रेलिया, बेलायत, बङ्गलादेशलगायत ५३ देशका पर्यटक यस अवधिमा नेपाल भित्रिएको कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिए ।

तीन महिनाको पर्यटक आगमन विश्लेषण गर्दा दैनिक सरदर १२ जना विदेशी पर्यटक काँकडभिट्टा नाकाबाट भित्रिने गरेका छन् । पर्यटक आगमनको मौसम सुरु भएकाले असोज महिनामा दैनिक सरदर १९ जना विदेशी पर्यटक यस नाकाबाट भित्रिएको पाइएको छ । सबैभन्दा धेरै पर्यटक भुटानबाट भित्रिएका छन् । असोजदेखि फागुन महिनासम्म विदेशी पर्यटकको आगमन धेरै हुने गरेको छ ।

तीन महिनामा भूटानबाट ४७८ जना, अमेरिकाबाट २४२ जना, अस्ट्रेलियाबाट ४९ जना, बेलायतबाट ४० जना र बङ्गलादेशबाट ३५ जना पर्यटक पूर्वीनाका हुँदै नेपाल प्रवेश गरेको कार्यालयका प्रमुख भट्टराईले बताए । यस नाकाको अध्यागमन कार्यालयबाट पर्यटकका लागि भिसासमेत जारी हुने गरेको छ ।

चालू आवको तीन महिनामा ९९२ जनाको पर्यटक भिसा, ७५ जनाको नाता भिसा, आठ जनाको वैवाहिक भिसा, १३ जनाको गैरआवासीय भिसा र आठ जनाको सार्क इन्डोर्समेन्ट भिसा जारी गरिएको उनले बताए । पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा ९८५ जना विदेशी नागरिक भारत गएका छन् । जसमा साउनमा ३१८ जना, भदौमा २३० जना र असोजमा ४३७ जना विदेशी नागरिक अध्यागमन प्रक्रिया पूरा गरेर भारततर्फ गएका छन् ।

सम्बन्धित समाचार