काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा स्वागत नगर्ने बताएका छन् । उनले मध्यावधि चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नर्वेको आलोचना गर्दै यसलाई फोहोर राज्य (सिट हाउस कन्ट्री) भएको बताए ।
नोबेल समितिले ‘शान्ति पुरस्कारका लागि आफूलाई नछानेको’ जनाउँदै नर्वेका आप्रवासीलाई अमेरिकामा स्वागत नगर्ने उनले बताए । आइतबारको चुनाबी सम्बोधनमा उनले भने, ‘इमान्दारीपूर्वक भन्दा, नर्वे सकिन्छ, नर्वे वास्तवमै फोहोर राज्य बनेको छ ।’ सन् २०२५ जनवरीमा ह्वाइट हाउस फर्किएदेखि ट्रम्पले प्रतिष्ठित नोबेल शान्ति पुरस्कार जित्ने चाहना खुलेरै व्यक्त गर्दै आएका छन् ।
यस वर्षको पुरस्कार दक्षिण अफ्रिकाकी न्यायाधीश तथा संयुक्त राष्ट्रसङ्घकी पूर्व मानव अधिकार प्रमुख नवी पिल्लाईलाई दिने निर्णय गरिसकिएको छ । राष्ट्रपति ट्रम्पले समितिको यो निर्णयलाई ‘लज्जास्पद’ भन्दै पुरस्कार आफूलाई दिनुपर्ने दाबी गरे ।
आइतबार पोर्ट ह्युरन (मिचिगन)मा नोभेम्बर ३ मा हुने महत्वपूर्ण अमेरिकी मध्यावधि चुनावअघि आयोजित सभामा उनले केही देशका आप्रवासीलाई स्वागत गर्ने तर नर्वेलाई नगर्ने बताए । उनले नर्वेका आप्रबासीलाई अमेरिकामा स्वागत नगरिनुको कारण नोबेल पुरस्कारका लागि आफूलाई योग्य नठहराउनुलाई लिए । उनले भने, ‘म नर्वेबाट कोही पनि चाहन्न किनकि मैले नोबेल पुरस्कार पाइनँ ।’
नर्वेका आप्रवासीबारे कुनै नयाँ अमेरिकी नीति आउने आधिकारिक संकेत भने छैन । नर्वेका परराष्ट्रमन्त्री एस्पेन बार्थ आइडेले नोबेल पुरस्कारबारे ट्रम्पका टिप्पणीमा प्रतिक्रिया दिँदै पुरस्कार छनौटका लागि समिति स्वतन्त्र रहेको स्पष्ट पारे ।