मूल सडक पहिरोमा हराएको कृष्णभीरमा बन्यो नयाँ ट्याक, सफल बन्यो परीक्षण

0 Shares

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ सडक ट्याकको आज सफल परीक्षण गरिएको छ ।

नागढुङ्गा-मुग्लिन सडक योजना (पश्चिम खण्ड)का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि पहिलो चरणमा खाली ग्यास बुलेट सञ्चालन गरेर परीक्षण गरिएको थियो ।

परीक्षण सफल भएपछि क्रमशः अन्य सवारीसाधन सञ्चालन गराइएको उनले जानकारी दिए । उनले निरन्तर काम गरेर आज नयाँ ट्याकबाट सवारीसाधन सञ्चालन गराउन सफल भएको बताए ।

कार्यस्थलमा खटिएका सहायक आवासीय इञ्जिनियर अशोक देवकोटाले सुरुमा खाली ग्यास बुलेट दुवैतर्फ पठाएर परीक्षण गरिएको र सफल भएपछि पालैपालो अन्य सवारीसाधन पास गराइएको जानकारी दिए ।

उनले भने, ‘सुरुमा खाली ग्यास बुलेट पठायौँ, त्यो परीक्षण सफल भएपछि क्रमशः पालैपालो दुवैतर्फ सवारीसाधन पास गराएका हौँ ।’ उनले नयाँ ट्याकबाट करिब ५० वटा सवारीसाधन सञ्चालन गराइसकिएको जानकारी दिए ।

उनका अनुसार आज परीक्षणका लागि मात्रै नयाँ ट्याकबाट सवारीसाधन सञ्चालन गरिएको हो । निरन्तर भित्ता काटेर निर्माण गरिएको नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि परीक्षण गरिएको उनले बताए ।

इञ्जिनियर देवकोटाका अनुसार भोलिदेखि उक्त स्थानमा ग्राभेल बिछ्याउने काम सुरु गरिने छ । त्यससँगै नाली निर्माण, पानी सोस्ने तथा तर्काउने व्यवस्था मिलाउने र सडकमाथि देखिएका चिरा पुर्ने काम पनि अघि बढाइने छ । उनले थपे, ‘थप समस्या नआएमा तीन दिनभित्र यी काम सकाएर नियमित रुपमा सवारीसाधन सञ्चालन गर्ने लक्ष्य छ ।’

सूचना अधिकारी मिश्रका अनुसार नयाँ ट्याक करिब २५२ मिटर लामो छ । सडकको चौडाइ सात मिटर र नाली एक मिटर चौडा रहेको छ । पुरानो भासिएको सडक भएको स्थानबाट नयाँ ट्याक पाँचदेखि १० मिटरसम्मको उचाइमा छ ।

उनले भने, ‘अहिलेसम्म कामका क्रममा थप समस्या देखिएको छैन, मौसमले साथ दिएमा र थप समस्या केही नआएमा तीन चार दिनभित्र आवश्यक काम सम्पन्न गरेर नियमित रुपमा सवारीसाधन सञ्चालन गर्ने योजना छ ।’

सम्बन्धित समाचार