पालिका भवन बगायो, उपाध्यक्ष र वडाध्यक्ष बेपत्ता, गोसाइँकुण्डमा कति हराए थाहै छैन

0 Shares

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा बिहीबारसम्म ५७० जनाको उद्धार भएको छ । बुधबार गएको भोटेकोसी त्रिशूली बाढीको मुख्य प्रभाव क्षेत्र नै गाउँपालिका थियो ।

पालिकाको वडा नम्बर २ टिमुरे र वडा नम्बर ५ स्याफ्रुबेँसी मुख्य प्रभावित बजार हुन् । गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ र ५ नम्बर वडाका वडाध्यक्ष दावा मिङ्मार तामाङ अझैसम्म सम्पर्कविहीन छन् ।
‘५७० जनको उद्धार भयो कति हराएका छन् थाहै छैन । गणना गर्न सकिने अवस्था छैन । पालिकाका जनप्रतिनिधि, कर्मचारीसहितको टिम नै हराइरहेका छन्,’ उनले भने । उनका अनुसार सिंगो बस्ती नै बगाएकाले कति जना बेपत्ता छन् भन्ने नै टुंगो छैन ।

बाढीले गाउँपालिका भवन पनि बगाएको र तटीय क्षेत्रका कुनै पनि घर बाँकी नरहेकाले क्षतिको आकलन र कति संख्यामा मानिसहरू बेपत्ता छन् भन्न सकिने अवस्था नरहेको अध्यक्ष तामाङले जानकारी दिए । मानवीय तथा भौतिक क्षति यो युगले पूर्ति गर्न नसकिने अकल्पनीय रहेको उनको भनाइ छ।

आफूले जिल्लामा समन्वय गरेर राहत र उद्धारको काम गरिरहेको अध्यक्ष तामाङले बताए ।

सम्बन्धित समाचार