काठमाडौं। बाढीबाट प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वल्र्डलिंक कम्युनिकेसन्सले विशेष राहत सुविधा दिने भएको छ।
बाढीका कारण प्रभावित ग्राहकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले कम्पनीले ती क्षेत्रमा इन्टरनेट सेवा विच्छेद नगर्ने जनाएको छ। नियमित रूपमा सेवा शुल्क तिर्न नसक्ने वा सेवा अवधि सकिन लागेका ग्राहकको इन्टरनेट सेवा पनि तत्काल बन्द नगरिने कम्पनीले जनाएको हो।
नवीकरणको म्याद सकिन लागेका ग्राहकलाई थप पाँच दिनको निःशुल्क सेवा अवधि उपलब्ध गराइने वल्र्डलिंकले जनाएको छ। यसबाट बाढीका कारण विस्थापित वा प्रभावित भएका ग्राहकलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
बाढीका कारण त्रिशूली, गजुरी र गल्छी क्षेत्रमा सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने कतिपय स्थानमा जनजीवनसमेत प्रभावित भएको छ।
यस्तो विपद्को समयमा सञ्चार तथा इन्टरनेट सेवा अत्यावश्यक हुने भएकाले ग्राहकलाई सेवा निरन्तर उपलब्ध गराउने प्रयास गरिएको कम्पनीको सन्देश छ।
वल्र्डलिंकले ‘तपाईंको सुरक्षा नै पहिलो प्राथमिकता हो’ भन्दै बाढी प्रभावित क्षेत्रका ग्राहक तथा सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।