काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सर्वोत्तम सिमेन्ट लिमिटेडको वित्तीय सूचकहरूमा सुधार देखिएको छ । गत आवमा कम्पनीको बिक्री आम्दानी, खुद नाफा र प्रतिसेयर आम्दानीमा सुधार देखिएको हो ।
गत आर्थिक वर्षमा कम्पनीले १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ । सो आम्दानी अघिल्लो आवको भन्दा ७.५६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा ९ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत आवमा कम्पनीको खुद नाफा ७.७० प्रतिशतले बढेको छ । गत आवमा १ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब २ करोड ८२ लाख रुपैयाँ थियो ।
कम्पनीको कुल नाफा अघिल्लो वर्षको २ अर्ब रुपैयाँबाट १५.६२ प्रतिशतले बढेर २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय खर्च अघिल्लो वर्षको २९ करोड ६२ लाख रुपैयाँबाट घटेर २४ करोड २४ लाख रुपैयाँमा झरेको छ, जसले नाफा वृद्धिमा टेवा पुर्याएको छ । कम्पनीको चुक्ता पुँजी अघिल्लो वर्षको ४.९७ अर्बबाट बढेर ५ अर्ब २२ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको जगेडा कोष ४ अर्ब ८७ करोड र पुनःमूल्यांकन कोष ३३ करोड ६८ लाख रुपैयाँ गरी कुल इक्विटी १० अर्ब ४३ करोड ८८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको दीर्घकालीन ऋण २ करोड २९ लाख रुपैयाँमा सीमित रहेको छ ।
कम्पनीको अल्पकालीन ऋण अघिल्लो वर्षको ३ अर्ब ७९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । कम्पनीको कुल सम्पत्तिको आकार १६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । सर्वोत्तम सिमेन्टले प्रतिकूल आर्थिक वातावरण र उच्च उत्पादन लागतका बाबजुद सञ्चालन आम्दानीलाई १०.२५ अर्ब नाघाउँदै १.१० अर्ब खुद नाफा कमाएको छ ।
प्रतिसेयर आम्दानी २१ रुपैयाँ २० पैसा र नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा हुनुले उद्योग क्षेत्रका कम्पनीहरूमा सर्वोत्तम सिमेन्टको वित्तीय स्थिति उच्च र मजबुत रहेको देखाउँछ ।