काठमाडौं । इमेलमा अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गर्ने काठमाडौं कपन बस्ने नुवाकोट घर भएका ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल असार २६ गते पक्राउ परे ।
यस्तै सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्याई ठगी गर्ने काठमाडौं बालाजु बस्ने नुवाकोट घर भएका १९ वर्षीय विवेक सुनार असार २४ गते पक्राउ परे । ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहट घर भएका २२ वर्षीय शुभम साह असार २ गते पक्राउ परे ।
सुरेन्द्र, विवेक र शुभम त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितहरूलाई ब्ल्याकमेल गर्ने, ठगी गर्ने, अनलाईन स्क्यामिङ गर्ने, सफ्टवेयर कम्पनीको स्रोत संकेतमा अनाधिकृत पहुँच पुर्याउने लगायतका विद्युतीय कसुरमा संलग्न अभियुक्तहरूलाई सीमित स्रोत साधनका बाबजुद उपलब्ध प्रविधिको उच्चतम प्रयोग गर्दै कानुनी दायरामा ल्याउन साइबर ब्यूरो सक्रिय छ ।
गत आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असार मसान्तसम्म साइबर अपराध सम्बन्धी २० हजार ५२६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । सो अवधिमा साइबर अपराधमा १६१ वटा मुद्दा दर्ता भएका थिए भने १५५ जना पक्राउ परेका थिए ।
दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुकरम्यासेन्जरको दुरूपयोगका ७ हजार १२३ वटा, टिकटकका ६ हजार ७ सय ७६ वटा, ह्याट्सएपका ३ हजार १०५ वटा, टेलिग्रामका १ हजार ३१ वटा, इन्स्ट्राग्रामका ६ सय २८ वटा, इमेलका १ सय १४ वटा, भाइबरका २१ वटा, इमोका ३८ वटा, युट्यूवका ६४ वटा, वीईच्याटका १४ वटा, ट्वीटरका ११ वटा, गुगलका ११ वटा, इसेवारखल्तीर बैंक एकाउण्टर एसएमसिएसका ७ सय ४४ वटा र संस्थातर्फ ८ सय ४६ वटा रहेका छन् ।
आर्थिक वर्ष २०८१र०८२ मा १८ हजार ९२६ वटा र आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ७३० वटा निवेदन प्रहरीमा दर्ता भएका थिए ।
साइबर अपराधका हालको प्रवृत्तिको सम्बन्धमा साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी भने, ‘सामाजिक सञ्जालको प्रयोगसँगै यसको दुरूपयोग पनि बढेको छ। गत २ आर्थिक वर्षको उजुरीको प्रवृत्ति हेर्दा विशेष गरी बैंक तथा वालेट अफिसबाट बोलेको भन्दै पीडितको बैंक एकाउन्टमा पहुँच पुर्याई ठगी गर्ने, गिफ्टरलोट्रीरपार्सल पठाएको भनी ठगी गर्ने, प्रेम सम्बन्धमा पारी ठगी गर्ने, वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने, टेलिग्राम, ह्वाट्सएप, इन्स्टाग्रामहरूमा अनलाइन जबको प्रलोभन देखाएर ठगी गर्ने, अनलाइन सपिङ मार्फत ठगी गर्ने प्रवृत्तिमा वृद्धि भएको
देखिन्छ ।’
प्रविधिको दुरूपयोगका कारण अपराधमा नयाँ शैली र प्रवृत्तिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ । यस्ता चुनौतीको सामना गर्दै वर्तमान र आगामी दिनमा प्रविधि प्रयोग भई घट्न सक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयले साइबर ब्यूरो स्थापना भएको हो ।
ब्यूरोलाई थप प्रविधियुक्त बनाउँदै प्रहरी कर्मचारीमा साइबर अपराध तथा सुरक्षा सम्बन्धी क्षमता अभिवृद्धिका साथै आम नागरिकहरू माझ साइबर सुरक्षा सम्बन्धी सचेतना फैलाउन विभिन्न कार्यक्रमहरू संचालन गरी प्रविधिको प्रयोग गरी हुने अपराध रोकथाम तथा अनुसन्धानको लागि नेपाल प्रहरी सदैव सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको छ ।
साइबर अपराधमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा कारबाही हुने गरेको छ ।