जनकपुरधाम– दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र पारिएको छ । पर्व नजिकिँदै जाँदा जनकपुरधामका पोखरी तथा जलाशयको सरसफाइ र सजावटसँगै बजारमा पूजाका सामग्री किनमेल गर्नेको चहलपहल बढेको छ ।
मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउन जनकपुरधामका विभिन्न पोखरी तथा जलाशयको सरसफाइ र शृङ्गारको काम सुरु गरिएको हो ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायतका पोखरी तथा जलाशयको सरसफाइ भइरहेको छ । विशेषगरी गङ्गासागर र धनुषसागरमा छठ मनाउने परम्परा रहेकाले स्थानीयवासीको सहयोगमा घाट व्यवस्थापन र सजावटलाई तीव्रता दिइएको उनले बताए।
यस वर्ष छठ पर्वको अवलोकनका लागि प्रधानमन्त्री वालेन्द्र शाहसमेत जनकपुरधाम आउने तयारी रहेकाले गङ्गासागर छठ घाटलाई थप व्यवस्थित र आकर्षक बनाउने काम भइरहेको साहले जानकारी दिए ।
यता, जनकपुरधामको पेठिया बजार, गाउँघरका हाट तथा मेलामा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढ्न थालेको छ । विशेषगरी बाँसबाट निर्मित पूजासामग्रीको माग बढेको स्थानीय सुमित्रादेवी कर्णले बताए।
छठ पर्व नजिकिएसँगै पुस्तौँदेखि बाँसका सामग्री निर्माण गर्दै आएका डोम समुदायका कारीगरलाई पनि भ्याइनभ्याइ भएको छ । समुदायका धेरै परिवारले पुर्ख्यौली पेसाका रूपमा बाँसका चोयाबाट छठ पूजामा प्रयोग हुने छिटी, नाङ्लो र ढाकीलगायत सामग्री निर्माण गर्दै आएका छन् ।
छठका अवसरमा यस्ता परम्परागत सामग्रीको माग बढ्ने भएकाले स्थानीय कारीगरले उत्पादन गरेका सामग्रीले बजार पाउने गरेका छन् । यसले डोम समुदायका परिवारको पुर्ख्यौली पेसालाई निरन्तरता दिनसमेत सहयोग पुर्याउँदै आएको छ ।