काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल अपराह्न ५ः०० बजे सुरु हुने तालिका छ।
आजको खेलमा सुदूरपश्चिम आफ्नो लय कायम राख्दै जित निकाल्ने योजनामा छ। पाँच खेल खेलेको सुदूरपश्चिमले तीनमा जित र दुईमा हार बेहोरेको छ । छ अङ्क जोडेको ऊ हाल तालिकाको तेस्रो स्थानमा छ।
प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रने सुदूरपश्चिम आजको खेलमा जित निकाल्न चाहन्छ।
यता जनकपुर पनि जितसहित पुनरागमन गर्ने योजनामा छ । पाँच खेल खेलेको जनकपुरले दुईमा जित र तीनमा हार बेहोरेको छ।
चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरका लागि आजको खेल महत्वपूर्ण हुनेछ। जारी प्रतियोगितामा पनि आठ टोलीको सहभागिता रहेको छ। एनपिएल–३ मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।