एनसेल बिजनेसले सुरु गर्‍यो ‘क्लाउडसुइट’, नेपाली मुद्रामै वेब होस्टिङ र डोमेन सेवा

0 Shares

काठमाडौं । एनसेल बिजनेसले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै प्लेटफर्मबाट उपलब्ध गराउने गरी ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सञ्चालनमा ल्याएको छ।

नेपालमा डिजिटल माध्यमबाट व्यवसाय विस्तार गर्ने व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थालाई लक्षित गरी सेवा ल्याइएको एनसेलले जनाएको छ।

क्लाउडसुइटमार्फत ग्राहकले डोमेन दर्ता, वेबसाइट होस्टिङ तथा अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्नेछन्। यसमा डोमेन नवीकरण, डोमेन ट्रान्सफरमा सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन प्रशासनलगायतका सुविधा उपलब्ध हुनेछन्।
एनसेलका अनुसार सेवाको अर्को विशेषता नेपाली मुद्रामै भुक्तानी गर्न सकिनु हो। यसअघि विदेशी होस्टिङ सेवा प्रयोग गर्दा अन्तर्राष्ट्रिय मुद्रामा भुक्तानी गर्नुपर्ने अवस्थालाई लक्षित गर्दै एनसेलले नेपालमै उपलब्ध हुने वेब होस्टिङ सेवा ल्याएको जनाएको छ।

कम्पनीले क्लाउडसुइटअन्तर्गत दुईवटा वेब होस्टिङ प्याकेज उपलब्ध गराएको छ। मासिक १ हजार रुपैयाँ पर्ने बेसिक प्याकेजमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा समावेश छन्।

त्यस्तै, मासिक २ हजार रुपैयाँ पर्ने प्रो प्याकेजमा बढी स्टोरेज र डेटा ट्रान्सफरका साथै २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस र पाँचवटासम्म सबडोमेनको सुविधा उपलब्ध छ। प्रो प्याकेजमा पनि एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा समावेश गरिएको छ।
एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले क्लाउडसुइटले नेपाली व्यवसायलाई व्यावसायिक डिजिटल उपस्थिति निर्माण गर्न सहयोग पुग्ने बताए।

उनका अनुसार डोमेन नाम र भरपर्दो वेब होस्टिङ डिजिटल यात्राका आधारभूत आवश्यकता हुन्। स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङको सुविधा एकै ठाउँमा उपलब्ध गराएर व्यवसायलाई डिजिटल रूपमा अघि बढ्न सहज बनाउने उद्देश्यले सेवा सुरु गरिएको हो।

एनसेलका अनुसार क्लाउडसुइटमार्फत होस्ट गरिएका वेबसाइटको डेटा नेपालमै रहनेछ। यसले व्यवसायलाई आफ्नो वेबसाइट तथा डिजिटल सम्पत्तिमा थप नियन्त्रण कायम गर्न र आवश्यक नियामक मापदण्ड पूरा गर्न सहज हुने कम्पनीको दाबी छ।

क्लाउडसुइटको पहिलो चरणमा डोमेन र वेब होस्टिङ सेवालाई प्राथमिकता दिइएको एनसेलले जनाएको छ।

सम्बन्धित समाचार