दाङको खानेपानी सुधार र आयोजना सञ्चालनका लागि ध्यानाकर्षण

0 Shares

तुलसीपुर । राष्ट्रिय साना शहरी खानेपानी महासंघका अध्यक्ष खेमराज ओलीको नेतृत्वमा गएको टोलीले खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगन्ज पुगेर दाङ जिल्लाका खानेपानी आयोजना सुधार, पानी शुद्धीकरण र आवश्यक बजेट व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराएको छ। महासंघका अध्यक्ष ओलीसँगै अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष शिवहरी भण्डारी र पवननगर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष टेकबहादुर भण्डारी सहभागी टोलीले कार्यालय प्रमुख जगन्नाथ दासलाई भेटेर जिल्लामा सञ्चालनमा रहेका खानेपानी आयोजनाको अवस्था, उपभोक्ताले भोगिरहेका समस्या तथा नयाँ पूर्वाधार निर्माणका लागि आवश्यक बजेटबारे छलफल गरेको हो।

टोलीले आगामी दिनमा खानेपानी आयोजनामा पहुँचका आधारमा नभई वास्तविक आवश्यकता र उपभोक्ताको हितलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने माग राखेको थियो। विशेष गरी अश्वारा खानेपानी आयोजनामा देखिएका समस्या समाधानका लागि आवश्यक बजेट तत्काल व्यवस्थापन गर्न आग्रह गरिएको महासंघका अध्यक्ष ओलीले जानकारी  दिए ।

यस्तै, पवननगर खानेपानी आयोजनामा गुणस्तरीय खानेपानीका लागी पानी शुद्धीकरण (ट्रिटमेन्ट) प्लान्ट निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएको छ। त्यसका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले छिट्टै प्राविधिक टोली खटाउने सहमति भएको उहाले जानकारी दिए । महासंघले दाङका बढ्दो शहरीकरणसँगै खानेपानीको माग पनि तीव्र रूपमा बढेकाले दीर्घकालीन योजना र पर्याप्त लगानीमार्फत गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्न सरकारको विशेष ध्यान आवश्यक रहेको जनाएको छ।

सम्बन्धित समाचार