काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन गरिएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्तालाई सहज रूपमा सहभागी गराउने व्यवस्था गरेको छ।
यससँगै खल्तीमार्फत एक सय रुपैँया वा सोभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः कार्यक्रमको दैनिक र पाक्षिक उपहार छनोटमा सहभागी हुनेछन्। योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वतः आन्तरिक राजस्व विभागको प्लेटफर्ममा पुग्नेछ भने उपहार कुपन पनि स्वतः सिर्जना हुनेछ। प्रयोगकर्ताले उक्त कुपन खल्ती एपमै हेर्न सक्नेछन्।
कार्यक्रमअनुसार प्रत्येक दिन एक जना विजेताले कर कट्टीपछि १ लाख प्राप्त गर्नेछन् भने प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख पुरस्कार पाउनेछन्। आन्तरिक राजस्व विभागले हरेक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गरी मोबाइल फोन र इमेलमार्फत जानकारी गराउनेछ। खल्तीमार्फत सहभागी भएर विजेता बनेका प्रयोगकर्तालाई खल्तीले पनि आफ्ना विभिन्न माध्यमबाट जानकारी उपलब्ध गराउने जनाएको छ।
खल्तीका अनुसार सरकारको यस अभियानमा सहकार्य गर्दै बिलमा आधारित कारोबारको प्रवर्द्धन, डिजिटल भुक्तानीप्रतिको विश्वास अभिवृद्धि तथा औपचारिक अर्थतन्त्र र राजस्व प्रणालीलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ। यसले कारोबारको अभिलेखीकरणलाई समेत थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी ले सरकारको महत्त्वपूर्ण पहललाई खल्तीका प्रयोगकर्तासम्म सहज रूपमा पुर्याउन पाउँदा उत्साहित भएको बताउँदै सरकारी प्राथमिकतासँग सहकार्य, वित्तीय पारदर्शिताको प्रवर्द्धन र डिजिटल अर्थतन्त्र निर्माणमा जिम्मेवार योगदान दिन खल्ती प्रतिबद्ध रहेको बताए। सुरक्षित, सहज र समावेशी डिजिटल वित्तीय सेवामार्फत प्रत्येक नेपालीलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने प्रयास निरन्तर रहने उनको भनाइ छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी सेवा प्रदायक आईएमई खल्ती लिमिटेड आईएमई पे र खल्तीको एकीकरणबाट स्थापित कम्पनी हो। हाल १ करोड २७ लाखभन्दा बढी दर्ता भएका प्रयोगकर्ता रहेको खल्तीले डिजिटल भुक्तानी, मर्चेन्ट क्यूआर, बिल भुक्तानी, टिकटिङ, रेमिट्यान्सलगायत विभिन्न डिजिटल वित्तीय सेवा प्रदान गर्दै आएको छ।