काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा बढेको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकअनुसार साउनमा नेपालले एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही महिनामा एक खर्ब ४३ अर्ब ४० करोड ६९ लाख रुपैयाँ बराबरको आयात भएकोमा यस वर्ष आयात ३१.०४ प्रतिशतले बढेको हो ।
निर्याततर्फ भने उल्लेख्य सुधार देखिएको छ। साउनमा नेपालको निर्यात ६१.७२ प्रतिशतले बढेको छ। यस अवधिमा नेपालले ३८ अर्ब ७० करोड रुपैयाँ बराबरका वस्तु निर्यात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
गत आर्थिक वर्षको साउनमा यस्तो निर्यात २३ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो।
निर्यातमा वृद्धि भए पनि नेपालको व्यापार घाटा घट्न सकेन। चालु आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको साउनमा व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड रुपैयाँ थियो। यस वर्ष व्यापार घाटा २९ अर्ब ६२ करोड रुपैयाँले बढेको हो। प्रतिशतका आधारमा व्यापार घाटा २४.८८ प्रतिशतले बढेको हो ।