सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या भएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शम्भुनाथ नगरपालिका–३ निवासी मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन् । बालिका हराएको करिब दुई घण्टापछि उनको शव घरको पछाडिपट्टि रहेको झाडीमा फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काले आइतबार बिहान पौने ११ बजेतिर बालिका मृत फेला परेको जानकारी दिए । उनकाअनसार बालिका बिहान पौने ९ बजेसम्म घरमै थिइन्। त्यसपछि बालिका घरमा नभेटिएपछि खोजी गरिएकोमा घरनजिकै शव फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।’घटनास्थलमा प्रहरी पुगेको छ, कर्तप्य ज्यानसम्बन्धी कसुर देखिन्छ । बाँकी अनुसन्धान हुँदैछ,’ एसपी खड्काले भने।
पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको छ भने घटनाको कारण र संलग्नताको विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।