व्यापार घाटा : निर्यात ६१ प्रतिशतले बढे पनि साउनमा व्यापार घाटा १ खर्ब ४८ अर्ब नाघ्यो

0 Shares

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

भन्सार विभागका अनुसार साउनमा आयात ३१.०४ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको साउनमा १ खर्ब ४३ अर्ब ४ करोड ६६ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका थिए ।

यस अवधिमा निर्यातमा भने अझ ठूलो वृद्धि देखिएको छ । गत वर्ष साउनमा करिब २४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात ६१.७२ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड ४१ लाख रुपैयाँ पुगेको छ । निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको आकार ठूलो रहेकाले व्यापार घाटा भने बढेको छ । साउनमा व्यापार घाटा २४.८८ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

वैदेशिक व्यापारको संरचनामा समेत केही सुधार देखिएको छ । कुल व्यापारमा निर्यातको हिस्सा गत वर्षको साउनमा १४.३३ प्रतिशत रहेकोमा यस वर्ष बढेर १७.११ प्रतिशत पुगेको छ ।

त्यस्तै, कुल व्यापारमा आयातको हिस्सा ८५.६७ प्रतिशतबाट घटेर ८२.८९ प्रतिशतमा झरेको छ । आयातको तुलनामा निर्यातको हिस्सा बढ्दै जानुलाई नेपालको वैदेशिक व्यापारका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ । आयात र निर्यातबीचको अनुपातसमेत गत वर्षको ५.९८ बाट घटेर यस वर्ष ४.८४ मा झरेको छ । निर्यातको वृद्धिदर आयातको तुलनामा उच्च रहेकाले व्यापार संरचनामा क्रमिक सुधारको संकेत देखिएको हो । यद्यपि, व्यापार घाटाको आकार अझै ठूलो रहेकाले आयातमा निर्भरता घटाउँदै निर्यात बढाउने चुनौती भने कायमै रहेको छ ।

सम्बन्धित समाचार