काठमाडौं। नेपालमा पाँच दशकअघि एक वर्षमा ८०१ वटा नयाँ सवारीसाधन दर्ता हुन्थे। अहिले देशभर दर्ता भएका सवारीसाधनको संख्या करिब ५५ लाख पुगेको छ। नयाँ दर्तामध्ये करिब ८४ प्रतिशत मोटरसाइकल छन्।
यी तथ्यांकले नेपालमा सवारीसाधनको विस्तारसँगै यातायातको स्वरूपसमेत कति परिवर्तन भएको छ भन्ने देखाउँछ। सन् १९७७ मा ८०१ वटा नयाँ सवारीसाधन दर्ता भएको अवस्थाबाट अहिले लाखौँ सवारीसाधन सञ्चालन हुने अवस्थासम्म आइपुग्दा यसको पछाडि पाँच दशकको बजार विस्तार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी जोडिएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा नेपालले करिब ४ खर्ब ७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात गरेको छ। यसबाट राज्यले करिब ३ खर्ब ५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको छ।
पछिल्लो एक आर्थिक वर्षमा मात्रै अटोमोबाइल क्षेत्रले राज्यलाई ७५ अर्ब रुपैयाँभन्दा बढी राजस्व योगदान गरेको नाडाले जनाएको छ।
आयातसँगै बनेको ठूलो इकोसिस्टम
अटोमोबाइल क्षेत्रको योगदान राजस्व र सवारीसाधनको संख्यामा मात्रै सीमित छैन। देशभर फैलिएको डिलर सञ्जाल, पार्टपुर्जा तथा आफ्टरमार्केट आपूर्ति, तालिमप्राप्त मेकानिक र सर्भिस टेक्निसियन, अटो फाइनान्स, सवारी बीमा तथा उत्सर्जन र सुरक्षा मापदण्डसम्बन्धी संरचना पनि यही अवधिमा विस्तार भएका छन्।
नाडाका अनुसार यी संरचना एकैपटक बनेका होइनन्। यसको विकासमा दशकौँ लागेको छ।
सुजुकी र टाटाजस्ता ब्रान्डहरू पनि लामो समयदेखि नेपाली बजारको हिस्सा रहँदै आएका छन्। कतिपय अवस्थामा एउटै परिवारका तीन पुस्तासम्म एउटै डिलरबाट सवारीसाधन खरिद गर्ने अवस्था बनेको नाडाले जनाएको छ।
‘मेड इन नेपाल’तर्फ नयाँ सुरुवात
नाडाको स्वर्ण जयन्ती संस्करणमा भने अटोमोबाइल क्षेत्रको अर्को पक्षलाई प्राथमिकता दिइने भएको छ। प्रदर्शनीमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ नामक प्याभिलियन राखेर नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ।
प्याभिलियनमा करिब आठ नेपाली उत्पादक सहभागी हुने तयारी छ। विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेटलगायतका उत्पादन त्यहाँ प्रदर्शन गरिने नाडाले जनाएको छ।
यसमा यात्री, एसियन ब्याट्रिज, कोहिनूर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका कम्पनी सहभागी हुने जनाइएको छ। सहभागीको अन्तिम सूची भने नाडा सचिवालयबाट पुष्टि हुन बाँकी छ।
‘नेपाल अझै उत्पादक मुलुक बनेको छैन’
नाडाले नेपाल अहिले नै अटोमोबाइल उत्पादनमा आत्मनिर्भर भइसकेको दाबी गरेको छैन। करिब दुई सय स्टलको प्रदर्शनीमा स्वदेशी उत्पादनको हिस्सा अझै सानो रहेको स्वीकार गर्दै नाडाले यसलाई सुरुवाती चरणका रूपमा लिएको छ।
तर पाँच दशकअघि अटोमोबाइल उत्पादन नगर्ने नेपालमा अहिले केही सवारीसाधन तथा अटोमोबाइल सामग्री उत्पादन र एसेम्बल हुन थालेको छ। आयातित उत्पादनसँगै नेपाली उत्पादनलाई एउटै प्रदर्शनीमा राख्न सक्ने अवस्था बन्नुलाई नाडाले महत्वपूर्ण परिवर्तनका रूपमा प्रस्तुत गरेको छ।
नाडाका अध्यक्षका अनुसार नेपाल अब सवारीसाधन आयात गर्ने देशमा मात्र सीमित नरही विस्तारै स्वदेशी उत्पादन र आत्मनिर्भरताको दिशामा अघि बढिरहेको छ।
५० वर्षपछि बदलिँदै नाडाको भूमिका
नाडा स्थापना हुँदा यसको मुख्य भूमिका नेपालमा सवारीसाधन आयात गर्ने व्यवसायीको प्रतिनिधित्व गर्नु थियो। अहिले यसको दायरा सवारी आयातसँगै एसेम्बली, वित्तीय सेवा, बीमा, सर्भिस, पार्टपुर्जा आपूर्ति र क्रमशः उत्पादनसम्म विस्तार भएको छ।
नाडाका अनुसार पाँच दशकको यात्रा केवल संगठनको इतिहास होइन, नेपालको अटोमोबाइल बजार कसरी विस्तार भयो र आयातमा आधारित बजार कसरी उत्पादनतर्फ अघि बढ्न थालेको छ भन्ने परिवर्तनको कथा पनि हो।