एक सातामै सुन तोलामा १५ हजार १०० रुपैयाँ महँगियो

0 Shares

काठमाडौँ । पछिल्लो एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५ हजार १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ३० गते प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य भदौ ५ गते शुक्रबार ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको हो ।

एक साताको अवधिमा सुनको मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ। साउन ३१ गते ३ हजार ६०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको सुन भदौ १ गते थप १ हजार ६०० रुपैयाँले बढेको थियो ।

भदौ २ गते मूल्य स्थिर रहे पनि भदौ ३ गते २ हजार ७०० रुपैयाँले घटेर ३ लाख ४ हजार १०० रुपैयाँमा झरेको थियो । त्यसपछि भदौ ४ गते एकैदिन ९ हजार ३०० रुपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको थियो। भदौ ५ गते थप ३ हजार ३०० रुपैयाँ बढेपछि सुनको मूल्य ३ लाख १६ हजार ७०० रुपैयाँ कायम भएको हो ।

व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा देखिएको तनाव, विशेषगरी होर्मुज जलमार्गलाई लिएर अमेरिका–इरानबीच देखिएको गतिरोध, सुनको मूल्य वृद्धिको प्रमुख कारण रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय स्तरमा सुनको सञ्चिति बढ्नु र नेपालको आन्तरिक बजारमा उपभोक्ताको क्रयशक्ति कमजोर हुनु पनि मूल्य वृद्धिसँग जोडिएको छ ।

साउनमा ५० किलो सुन आयात

यसैबीच, चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा ५० किलो ‘फाइन गोल्ड’ आयात भएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार उक्त सुन आयातका लागि करिब १ अर्ब २ करोड ६६ लाख रुपैयाँ बराबरको रकम बाहिरिएको छ ।

सुनको मूल्य निरन्तर बढिरहेको अवस्थामा आयातको यो तथ्याङ्कले नेपाली बजारमा सुनको माग र अन्तर्राष्ट्रिय मूल्य उतारचढावको प्रभावलाई समेत देखाएको छ ।

सम्बन्धित समाचार