काठमाडौँ । राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा हुने महाधिवेशनको तयारीका लागि १६ वटा विभिन्न समितिहरू गठन गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेता निरञ्जन थापाको अध्यक्षतामा रहेको विधान मस्यौदा समितिमा सदस्यहरू थप गर्ने निर्णय समेत भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
अध्यक्ष लिङ्देनले सुनसरीमा भएको धार्मिक तथा जातीय द्वन्द्वको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारको कमजोरीका कारण देशले क्षति व्यहोर्नुपरेको बताए। उनले यस्ता संवेदनशील विषयमा सरकारलाई सचेत रहन आग्रह गर्दै घटनाका पीडितलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरे।
देशमा बढ्दो धार्मिक र जातीय विवादको मुख्य जड वर्तमान संविधान र यसले अंगीकार गरेका कतिपय व्यवस्था नै रहेको दाबी गर्दै राप्रपाले नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनुपर्ने अडान दोहोर्याएको छ।
सत्ता नेतृत्व र शक्तिको बाँडफाँटका सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा लिङ्देनले पार्टी सभापतिभन्दा बाहिरको व्यक्तिले सत्ताको नेतृत्व गर्दा शक्ति पृथकीकरणमा समस्या देखिनु स्वाभाविक रहेको टिप्पणी गरे। उनले राप्रपाले सडक र सदन दुवै ठाउँबाट हिन्दू राष्ट्रको मुद्दालाई निरन्तर उठाउने र आगामी दिनमा यसलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाए।