काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहलाई अनुभवी राजनीतिक नेतृत्व र बुद्धिजीवीहरूसँग संवादमा बस्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै संयोजक प्रचण्डले प्रधानमन्त्रीको कार्यशैली र प्रतिपक्षीप्रतिको दृष्टिकोणमाथि कडा टिप्पणी गरेका हुन् ।
गर्दै प्रचण्डले नेपालसँग विगतका जटिल समस्याहरू छिचोलेका र समाधानका लागि काम गरेका नेता एवं बुद्धिजीवीहरूको ठुलो पङ्क्ति रहेको स्मरण गराए । उनीहरूसँग भएको अनुभवलाई सरकारले प्रयोग गर्नुपर्नेमा उल्टै उपेक्षा गरेको उनको आरोप छ । ‘हामीसँग ठुलो अनुभव भएका नेता र बुद्धिजीवीहरू हुनुहुन्छ, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई के कुराले रोकेको छ ?,’ प्रचण्डले प्रश्न गर्दै भने, ‘कतै उहाँभित्रको अहंकारले त संवाद रोकिएको होइन ? नेतृत्वले दम्भ पालेर मुलुक चल्दैन ।’
भ्रष्टाचार निवारणको सन्दर्भ जोड्दै प्रचण्डले प्रधानमन्त्रीले पुराना नेताहरूसँग प्रश्न गर्न सक्ने ठाउँ रहेको तर संवाद नै नगर्नु दुःखद भएको बताए । उनले भने, ‘उहाँले हामीलाई पनि ‘तपाईंहरूले भ्रष्टाचार विरुद्ध काम गर्छु भन्नुभएको थियो, के कुराले रोकेको थियो रु भनेर सोधेको भए हुन्थ्यो, हामी जवाफ दिन तयार थियौँ । तर संवादबाटै भाग्ने काम भइरहेको छ ।’
प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीमा सङ्घर्षको इतिहास बुझेका र जटिल मोडमा समाधान निकाल्न सक्ने क्षमता भएका नेताहरू रहेको दाबी गरे । उनले सरकारलाई चेतावनी दिँदै भने, ‘जति संवादबाट टाढा जानुहुन्छ र प्रतिपक्षीलाई अवमूल्यन गर्नुहुन्छ, त्यति नै राष्ट्र र हामी सबै अप्ठ्यारोमा पर्दै जानेछौँ । प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्दा उत्पन्न हुने परिणामको जिम्मेवारी सरकारले लिनुपर्छ ।’