काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालका लागि निर्माण उपकरण तथा बुलेट मेसिनको आधिकारिक वितरक अटोवेज प्रालिबीच बुलेट मेसिन खरिदमा सहज कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।
निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिद गर्न वित्तीय सहयोग उपलब्ध गराउने उद्देश्यले बैंक र अटोवेजबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकका हेड अफ गण्डकी रिजन बाबुराम ढकाल तथा अटोवेज प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकले बुलेट मेसिनलाई नै धितोका रूपमा राखी डिलरको बिल वा इन्भ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउन सक्नेछ ।
त्यस्तै, ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो राखेमा बैंकको कर्जा मूल्यांकन तथा प्रचलित कर्जा नीतिअनुसार डिलरको इन्भ्वाइस मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुन सक्ने बैंकले जनाएको छ ।