काठमाडौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ ।
काठमाडौंस्थित भिभान्तामा आयोजित कार्यक्रममा यो सुविधा सार्वजनिक गरिएको हो । कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी काम र बैंकसम्म भौतिक रूपमा पुग्नुपर्ने अवस्थालाई सहज बनाउँदै अपाङ्गता भएका व्यक्तिको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले यो कर्जा सुविधा ल्याइएको हो ।
‘स्वावलम्बन कर्जा’मार्फत योग्य अपाङ्गता भएका व्यक्तिले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन् । यसअन्तर्गत १० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ । कर्जाको वार्षिक ब्याजदर ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत तोकिएको छ ।
कर्जाका लागि इसेवा खाता केवाईसी प्रमाणित भएको, नेपाल सरकारबाट जारी अपाङ्गता परिचयपत्र भएको र कम्तीमा ६ महिनादेखि इसेवा प्रयोग गर्दै आएको हुनुपर्नेछ । त्यस्तै, आवेदकको तलब वा व्यवसायबाट नियमित आम्दानी हुनुपर्नेछ । कर्जा स्वीकृति सम्बन्धित मूल्यांकन तथा बैंकका लागू हुने सर्तअनुसार हुनेछ ।
योग्य प्रयोगकर्ताले इसेवा एपको गृहपृष्ठमा रहेको ‘स्वावलम्बन कर्जा’ ब्यानरमा क्लिक गरी आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन् । यसले कर्जा लिन आवश्यक कागजी प्रक्रिया र भौतिक उपस्थितिलाई कम गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले डिजिटल प्रविधिको प्रयोगमार्फत अपाङ्गता भएका व्यक्तिको कर्जामा पहुँच सरल र सहज बनाउने उद्देश्यले स्वावलम्बन कर्जा सुरु गरिएको बताए ।
उनले स्वावलम्बन कर्जा एउटा वित्तीय उत्पादन मात्र नभई अपाङ्गता भएका व्यक्तिलाई वित्तीय प्रणालीमा थप सहज रूपमा सहभागी गराउने अवधारणाको सुरुवात भएको बताए । कुनै पनि व्यक्तिको वित्तीय पहुँच शारीरिक अवस्थाका कारण सीमित हुन नहुने उनको भनाइ थियो ।
त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले अपाङ्गता भएका व्यक्तिको औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
उनले स्वावलम्बन कर्जाले अपाङ्गता भएका व्यक्तिका व्यक्तिगत तथा आर्थिक आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए । नयाँ किसिमको वित्तीय समाधानमार्फत अपाङ्गता भएका व्यक्तिका लागि थप समावेशी वित्तीय वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा इसेवा, सिटिजन्स बैंक इन्टरनेसनल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, विकास साझेदार संस्था, अपाङ्गता भएका व्यक्ति तथा सञ्चारमाध्यमका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा स्वावलम्बन कर्जा सुविधाबारे जानकारी दिनुका साथै प्रत्यक्ष कर्जा वितरण, एक सहभागीको अनुभव र यस पहलसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।