काठमाडौं । एर्लिङ हालान्डको दुई गोलमा पाँच पटकको विश्व विजेता ब्राजिल पराजित भएको छ । ब्राजिललाई २-१ गोलले पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको हो । ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको हो ।
ब्राजिल यसअघि सन् १९९० मा अन्तिम १६ बाटै बाहिरिएको थियो । नर्वेले ब्राजिललाई विश्वकपमा दोस्रो पटक पराजित गरेको हो । नर्वेले अब मेक्सिको र इंग्ल्यान्डबीचको खेलको विजेतासँग क्वाटरफाइनल खेल्नेछ ।
अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा हालान्डले दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए ।
ब्राजिलका लागि नेमनारले इन्जुरी टाइमको नवौँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काए । त्यसअघि ब्राजिलले पहिलो हाफमा पनि पेनाल्टीमा गोल गर्न चुकेको थियो । ब्राजिलका ब्रुनो गुमाइरेजले पहिलो हाफको सुरुमै पाएको पेनाल्टी मिस गरेका थिए ।
पछिल्लो ४० वर्षमा विश्वकपमा पेनाल्टीमा गोल गर्न असफल हुने ब्रुनो ब्राजिलको पहिलो खेलाडी बने ।