दाङमा ग्यास अभाव भएको विषयमा प्रशासनको ध्यानाकर्षण

0 Shares

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लामा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालयमा पुगेर आज ध्यानाकर्षण गराएको छ ।

पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासंघ दाङका पूर्वअध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्वकेन्द्रीय सदस्य सरद अधिकारी, राष्ट्रिय समाचार समिति दाङकी प्रमुख नारायणी रजौरेसहित पत्रकारको टोलीले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको हो ।

बजारमा देखापरेको कृत्रिम ग्यास अभावलाई तत्काल हटाउन र आमउपभोक्तालाई सहज रूपमा ग्यास आपूर्तिको व्यवस्था मिलाउन विशेष पहल थाल्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेलाई ध्यानाकर्षण गराइएको महासंघ दाङ शाखाले जनाएको छ ।

यस क्रममा पत्रकारहरूसँग छलफल गर्दै प्रजिअ पाण्डेले बजारमा देखापरेको कृत्रिम ग्यास अभावलाई हटाउने विषयमा जिल्ला प्रशासनले विभिन्न योजनामा काम गरिरहेको बताए । उनले उक्त विषयमा ग्यास उद्योग र बिक्रेताको ध्यानाकर्षण गराइएको, उद्योग वाणिज्य संघ, प्रहरीको युनिटसमेत परिचालन गरी अनुगमन भइरहेको, स्थानीय निकायसँग यस विषयमा छलफल भइरहेको र अभाव हटाउन विशेष रणनीति तयार गरिएको जानकारी दिए ।

यसैबीच, जिल्लाका कुनै पनि ठाउँमा ग्यासको कालोबजारी गरेको थाहा पाएमा तत्काल सूचना दिन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ । सञ्चारकर्मीहरूसँग छलफल गर्दै प्रजिअ पाण्डेले खाना पकाउने ग्यासलाई सहज बनाउनका लागि आफूहरूले दाङका बजारहरूमा नियमित अनुगमन र निगरानी गरिरहेको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानाले बजारमा कृत्रिम अभाव भइरहेको समयमा सबै पक्ष सजग रहनुपर्ने बताए । सञ्चारकर्मीहरूले पनि यस विषयमा विशेष निगरानी राखी सरोकार भएका निकायसँग सहकार्य र समन्वय गर्नुपर्नेमा उनले जोड दिए ।

यता नेपाल पत्रकार महासंघ दाङले सम्पूर्ण सञ्चारकर्मीलाई बजारमा खाना पकाउने ग्यासमा देखापरेको कृत्रिम अभावका विषयमा विशेष चासो र निगरानी राख्न र कालोबजारी गरेको थाहा पाएमा तत्काल सरोकार भएका निकायमा जानकारी दिन अनुरोध गरेको छ ।

सर्वसाधारणहरू ग्यासको अभावमा समस्यामा परेकाले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चारकर्मीले ग्यासमा देखा परेको कृत्रिम अभाव र कालोबजारीलाई हटाउन प्रभावकारी भूमिका खेल्नुपर्ने पत्रकार महासंघले जनाएको छ ।

सम्बन्धित समाचार