काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड भारतीय चेम्बर अफ कमर्सले प्रदान गर्ने चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्डबाट सम्मानित भएको छ।
बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा पुरस्कार प्राप्त गरेको जनाएको छ।
यी पुरस्कार भारतको नयाँदिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ कार्यक्रममा प्रदान गरिएको हो। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले उक्त पुरस्कार ग्रहण गरेका थिए।
बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले व्यावसायिक बैंकिङमा उत्कृष्ट कार्यसम्पादन, सम्पत्तिको गुणस्तर व्यवस्थापन, नाफामुखी सञ्चालन तथा साना, घरेलु तथा मझौला उद्यम (एमएसएमई) प्रवर्द्धनमा बैंकको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ।
बैंकले यस उपलब्धिका लागि ग्राहक, सेयरधनी तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै देशको आर्थिक विकास र समृद्धिमा योगदान दिने प्रतिबद्धता जनाएको छ।
नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।