काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को मासिक व्यवसायिक योजनाअनुसार उत्कृष्ट कार्यसम्पादन गर्दै निर्धारित लक्ष्य पूरा गरेका अभिकर्ताहरूका लागि प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
ललितपुरस्थित होटल रोयल टुलिपमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए। कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक तथा अभिकर्तासहित करिब ३०० जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ।
उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र व्यवसायिक सूचकमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्दै त्यसमा योगदान पुर्याउने नियामक निकाय, ग्राहक, अभिकर्ता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सबैप्रति आभार व्यक्त गरे।
उनले नयाँ आर्थिक वर्षको शुभकामना दिँदै ग्राहकलाई अझ गुणस्तरीय सेवा र सुविधा उपलब्ध गराउन सबैले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए। साथै अभिकर्ता सञ्जाललाई थप सुदृढ बनाउँदै व्यवसाय विस्तारमा कम्पनीले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरूलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त एमडीआरटी लक्ष्य हासिल गर्न आवश्यक रणनीति, कार्यशैली र व्यवसाय विस्तारका उपायबारे प्रशिक्षण दिएका थिए। उनले व्यावहारिक उदाहरणसहित अभिकर्तालाई उत्प्रेरणामूलक प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रमको समापनतर्फ स्ट्यान्डअप कमेडियन सुमन कार्कीको प्रस्तुति रहेको थियो। त्यसपछि गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षण गायक दीपक बज्राचार्य एन्ड रिदम ब्यान्डको लाइभ कन्सर्ट तथा चर्चित डिजे अमुकको प्रस्तुति रहेको कम्पनीले जनाएको छ।