गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्वपूर्ण योजना समेटिएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवद्र्धनसम्मका कार्यक्रम समावेश छन् ।
निर्माण सम्पन्न भएको वर्षौं बितिसक्दा पनि नियमित अन्तर्रारष्ट्रिय उडान हुन नससेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरिने अर्थमन्त्री वाग्लेले बताए । उनले एक हजार २०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण ढाँचामा निर्माण अगाडि बढाइने उल्लेख गरे ।
लामो समयदेखि चर्चामा रहेको बागलुङको ढोरपाटनस्थित उत्तरगङ्गा जलाशयुक्त जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गरिने बजेटमा उल्लेख छ ।
म्याग्दीस्थित ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने जनाइएको छ । निर्माणाधीन तनहुँ जलाशययुक्त जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइने अर्थमन्त्री वाग्लेले बताए ।
काठमाडौंलाई पर्यटकीय राजधानी पोखरासँग जोड्ने पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-दमौली-पोखरा खण्ड शीघ्र सम्पन्न गरिने उनले बताए । सिद्धार्थ राजमार्गको अन्तर्रारष्ट्रिय स्तरमा रुपान्तरण सुरु गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ-उद्यम व्यवसायी केन्द्रित ‘गण्डकी चतुर्भुज’ बनाइने बजेटमा उल्लेख गरिएको छ ।
त्रिवेणीधाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै ‘शालिग्राम पथ’ विकास गरिने अर्थमन्त्री वाग्लेले बताए । लुम्बिनी-मुक्तिनाथ धार्मिक-सांस्कृतिक मार्गमा आधारित ‘निर्वाण पथ’ प्रवद्र्धन गर्दै ध्यान, साधना, योग, बौद्ध-बैद्धिक दर्शन तथा मुस्ताङ, मनाङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गरिने भएको छ ।
गोरखामा रहेको गोरखकाली रबर उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी निजी-सार्वजनिक साझेदारी ढाँचामा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्र पूरा गरिने अर्थमन्त्री वाग्लेले बताए ।
पोखरा उपत्यकामा सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न इ-मोबिलिटी सेवा छिट्टै सुरु गरिने बजेटमा उल्लेख छ । सिद्धार्थ राजमार्गको बुटवल-पोखरा खण्डलाई द्रुतमार्गका रुपमा निर्माण सुरु गरिने जनाइएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरनीदेखि पोखरासम्मको चार लेन सडक शीघ्र सम्पन्न गरिने भएको छ । आँबुखैरेनी-मुग्लिन सडक निर्माण सुरु गरिने अर्थमन्त्री वाग्लेले बताए । खप्तड-रामारोशन-बढिमालिका-बूढीनन्दा-रारा-स्वर्गद्वारी हुँदै मुक्तिनाथ जोड्ने गरी उच्च पहाडी पर्या-पर्यटन पदमार्ग ‘डाँफे रुट’को विकास गरिने उनले बताए ।
यस्तै, अपि हिमाल, दोर्दी हिमाल, सिकलेस-कहुपुचे-मनाङ जोड्ने पदमार्ग विकास गरिने जनाइएको छ । साइकल ट्रेलका लागि कास्कीको लिपेनी-थुम्सीकोट-भाचोक-लम्तरी (प्रिन्स चाल्स रुट हुँदै करापुसम्म) र ब्यास-छाब्दी बाराही-बन्दीपुर-छिम्केश्वरी-लाब्दी-देवघाट रुट निर्माण गरिने बजेटमा उल्लेख छ ।
पोखरा, काडमाडौँ, विराटनगरलगायत सहरमा दुई हजार क्षमताको इन्डोर मल्टीपर्पोज स्टेडियम तीन वर्षभित्र निर्माण गरिने अर्थमन्त्री वाग्लेले बताए । पोखरामा रहेको प्राकृतिक तथा वैकल्पिक चिकित्सासहितको आयुर्वेद अस्पताललाई सञ्चालनमा ल्याई आयुर्वेद तथा प्राकृृतिक चिकित्सालाई स्वास्थ्य पर्यटनसँग जोडिने भएको छ ।
मुस्ताङ र मनाङमा रहेको ऐतिहासिक गुम्बाहरुको संरक्षणका लागि विशेष परियोजना सञ्चालन गरिने बजेटमा उल्लेख छ । देवघाट-मुक्तिनाथ-तिलिचो जोड्ने गरी प्रादेशिक पर्यटकीय करिडोर निर्माण गरिने अर्थमन्त्री वाग्लेले बताए ।