काठमाडौं। सरकारले खेलकुद क्षेत्रमा ४ अर्ब तीन करोड विनियोजन गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन्।
जसअन्तर्गत सरकारले तीन वर्षभित्र ८ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटमा स्तरोन्नति गर्ने भएको छ।
प्रमुख आठ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निमार्ण गर्ने पनि सरकारको तयारी छ।
यस्ता छन् खेलकुद क्षेत्रको बजेट हाइलाइट्सः
-तीन वर्षभित्र ८ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटमा स्तरोन्नति गरिने
-प्रमुख आठ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निमार्ण गरिने
-विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तिमा २ हजार क्षमताका इन्डोर मल्टिप्रपोज स्टेडियम आगामी ३ वर्षभित्र निर्माण गरिने
-मुलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने
-खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभुत तहदेखि छनोट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाइने
-अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजिवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने
-सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न मधेश प्रदेशमा प्रस्तावित ११ औं खेलकुद प्रतियोगिताका लागि रकम छुट्टाइएको