निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता

0 Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा उद्यमीसँगको छलफल कार्यक्रममा बोल्दै उनले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनःस्थापित गर्नुपर्ने बताएका हुन् । उनले निजी क्षेत्रले गरेको लगानी सुरक्षित, प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । उनले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो कुरामा भन्नेमा सरकार स्पष्ट रहेको भन्दै उद्यमीको नाफा र सम्पतीको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताए । वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरु तिब्र गतिमा कार्यान्वयन भइरहेको समेत जाकारी दिए । उनले पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तिब्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार र लगानीको वातावरण सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेको बताए ।

उनले भने, ‘बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारहरूको कार्यान्वयन पनि तीव्र गतिमा अगाडि बढिरहेको छ । आवश्यक कानूनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध रूपमा कार्यान्वयन गरिनेछ । पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार सुधार, वित्तीय क्षेत्र सुधार र लगानी वातावरण सुदृढ गर्ने काम पनि समानान्तर रूपमा अगाडि बढिरहेका छन् । सरकार आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छ । त्यसैले आजको बैठकलाई नियमित छलफलका रूपमा होइन, नेपालको आर्थिक रूपान्तरणको नयाँ चरण प्रारम्भ गर्ने साझा कार्यशालाका रूपमा अगाडि बढाऔं । नेपाललाई अधिकतम लगानीमैत्री र व्यवसायमैत्री अर्थतन्त्र बनाउनेतर्फ अगाडि बढाऔं । आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व अब उद्योग क्षेत्रले गर्नुपर्दछ । लामो समयदेखि नेपालले गुमाउँदै आएको औद्योगिक अवसरलाई अब हामी सँगै पुनस्र्थापित गरौँ । सरकारको प्रतिबद्धता स्पष्ट छ । निजी क्षेत्रले गरेको लगानी सुरक्षित रहनेछ, उचित प्रतिफल प्राप्त गर्नेछ र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण हुनेछ । उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहनेछ किनकि निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो भन्नेमा हामी स्पष्ट छौं । सरकार सुधारको गति बढाउनेछ । अवरोध हटाउनेछ र निजी क्षेत्रका साथ निरन्तर उभिनेछ । आत्मविश्वासका साथ लगानी गर्न, उत्पादन बढाउन, उद्योग विस्तार गर्न, नयाँ उद्यम सुरु गर्न र रोजगारी सिर्जना गर्न हामी गम्भीर छलफल गर्दैछौं । हामी सबैको साझा लक्ष्य एउटै होः लगानी, उत्पादन र उत्पादकत्वबाट नेपालको आर्थिक भविष्य निर्माण गर्ने ।’

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रमा देखिएको लगानीको अवरोध हटाउने प्रतिवद्धता दोहोर्‍याउँदै लगानी, उत्पादन, उद्योग विस्तार, नयाँ उद्यम स्थापना तथा रोजगारी सिर्जनामार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्यमीहरुलाई आग्रह पनि गरे ।

सम्बन्धित समाचार