काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो पठाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार नियमित पत्रकार सम्मेलन क्रममा नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको बताएका हुन्।
‘हो, भारत भ्रमणका लागि नेपालका प्रधानमन्त्रीलाई निम्तो पठाइएको छ,’ जैसवालले पत्रकारले राखेको जिज्ञासाको जबाफ दिने क्रममा भने।
जैसवालले नेपालका प्रधानमन्त्री बालेन शाहका मुख्य सल्लाहकार कुमार बेनको भ्रमण र भेटघाटबारे भने कुनै जबाफ दिएनन्।
पत्रकारले उनलाई नेपालका तर्फबाट भएको भ्रमण र भेटघाटबारे प्रश्न गरेका थिए। जबाफमा उनले भने, ‘मसँग यस विषयमा कुनै जानकारी छैन।’
भारतीय पत्रकारले नेपालका प्रधानमन्त्रीलाई छिट्टै भारतले स्वागत गर्न लागेको हो भनेर पनि सोधेका थिए। जैसवालले भ्रमणको समय र मितिबारे पनि कुनै टिप्पणी गरेनन्।