काठमाडौं। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाएका छन् ।
स्कटल्यान्डविरुद्ध जारी खेलमा ब्रान्डन म्याकमुलनलाई आउट गर्दै सन्दीपले आफ्नो ओडिआई करियरको १५० औं विकेट पूरा गरेका हुन् । उनले यो उपलब्धि केवल ७३ खेलमा हासिल गरेका छन् ।
यसअघि यो कीर्तिमान अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो । उनले सन् २०१९ मा वेस्ट इन्डिजविरुद्ध ७७ खेलमा १५० विकेट पूरा गरेका थिए ।
सन्दीपले यसअघि अफगानिस्तानका राशिद खानको कीर्तिमान पनि तोडेका थिए । उनले ४२ खेलमै १०० विकेट पूरा गर्दै राशिदको ४४ खेलको उपलब्धि पछि पारेका थिए ।
नेपालका लागि सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआई डेब्यु गरेका सन्दीपले छोटो समयमै विश्व क्रिकेटमा आफूलाई प्रभावशाली स्पिनरका रूपमा स्थापित गरेका छन् ।