नेपाल र स्कटल्याण्ड भिड्दै, नेपालले लिन सक्ला बदला?

0 Shares

काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्डविरुद्ध खेल्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित निकाल्ने पक्षमा छ ।

जारी लिग २ मा नेपाल र अमेरिकालाई डीएल मेथडमा समान २ रनले हराएको स्कटल्यान्ड तेस्रो जितको खोजीमा छ । स्कटल्यान्ड घरेलु मैदानमा नेपाललाई हराउँदै लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

शनिबार अमेरिकामाथि ९ विकेटको फराकिलो जित निकालेको नेपाली टोली सोही लयलाई कायम राख्न चाहन्छ ।

नेपाली टोली आजको खेलमा स्कटल्यान्डलाई हराउँदै पहिलो खेलमा भोगेको हारको बदला लिन चाहन्छ । नेपालका लागि आजको खेल अंक तालिका सुधारका लागि पनि निकै महत्त्वपूर्ण छ । लिग २ का बाँकी २ खेलमा जित निकाल्दै नेपाली टोली शीर्ष ६ मा रहेर एक दिवसीय वरीयता जोगाउने योजनामा छ ।

घरेलु मैदानमा भएको लिग २ का तीन खेलमा बेन्चमा रहेका ओपनर कुशल भुर्तेलले अमेरिकाविरुद्ध शतकीय पारी खेलेका थिए ।

जारी सिरिजको पहिलो खेलमा बेन्चमा रहेका ओपनर तथा विकेटकिपर आशिफ शेखले अमेरिकाविरुद्ध अर्धशतक पूरा गरे । त्यसैले आजको खेलमा मुख्य प्रशिक्षक स्टुआर्ट लले अमेरिकाविरुद्ध खेलेको प्लेइङ ११ लाई नै निरन्तरता दिन सक्ने छन् ।

टोलीको रणनीतिलाई बदल्न उनले खेलाडी परिवर्तन गरेको अवस्थामा सोमपाल कामीको स्थानमा करण केसी आउन सक्ने छन् ।

आईसीसी विश्वकप लिग–२ को अंक तालिका सुधारका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिज महत्त्वपूर्ण छ ।

जारी सिरिजमा २ अंक गुमाएर २ अंक जोडेको नेपाली टोलीको अबको लक्ष्य चार अंक जोड्नु हो । नेपालले अब स्कटल्यान्ड र अमेरिकाविरुद्ध खेल्ने तालिका छ ।

लिग–२ का ३६ मध्य २६ खेल खेलेको नेपाली टोली २० अंकमा तालिकाको सातौँ स्थानमा छ । ९ खेलमा जित, १५ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपालले २० अंक बनाएको छ ।

लिग–२ मा सबैभन्दा बढी ३० खेल खेलेको स्कटल्यान्ड ३८ अंकमा तालिकाको शीर्ष स्थानमा छ । २६ खेल खेलेको अमेरिका १८ खेलमा जित र ८ खेलमा हार भोग्दै ३६ अंकमा तालिकाको शीर्ष स्थानमा छन् ।

सम्बन्धित समाचार