अमेरिका–इरान तनावमा विराम, तेलको मूल्यमा भारी गिरावट

0 Shares

काठमाडौं । अमेरिका-इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र रणनीतिक ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनबारे वार्ता अघि बढ्ने आशा पलाएको छ । यससँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ ।

इरानमा १३ दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सप्ताहन्तमा सैन्य कारबाही रोकेको थियो । अमेरिकी राष्ट्रपतिका विशेष दूतले राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि केही समय र अवसर दिएको बताएका थिए ।

यसको प्रतिक्रियामा इरानले पनि क्षेत्रीय मुलुकमाथि गरिरहेका प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ । घटनाक्रमले खाडी क्षेत्रमा पानीजहाजको आवतजावत तथा तेल उद्योगलाई केही राहत दिएको छ ।

इरानले ‘स्ट्रेट अफ हर्मुज’को ओमानी जलक्षेत्र हुँदै जाने पानीजहाजमाथि आक्रमण गरेपछि तनाव थप चर्किएको थियो । त्यसपछि कमजोर युद्धविराम भङ्ग हुँदै यसै महिना अमेरिका र इरानबीच पुनः सैन्य गतिविधि सुरु भएको थियो ।

तनावका कारण वासिङ्टन र तेहरानबीचको कूटनीतिक प्रयास प्रभावित भएको थियो । द्वन्द्व ‘स्टे«ट अफ हर्मुज’भन्दा बाहिरसमेत फैलिँदा इरानसमर्थित हुथी विद्रोहीले लालसागर प्रवेश गर्ने प्रमुख मार्ग बाब अल–मन्देब जलक्षेत्रमा साउदी पानीजहाजमाथि आक्रमण गरेका थिए ।

तनाव चर्किएसँगै कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको थियो । गत साता ब्रेन्ट कच्चा तेलको मूल्य मे यताकै पहिलोपटक प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको थियो । यद्यपि, लाल सागरमा पानीजहाजको आवतजावत जारी रहेको समाचारले शुक्रबार लगानीकर्ताको चिन्ता केही कम गरेको थियो ।

अमेरिकाले थप आक्रमण नगर्ने निर्णय गरेपछि तथा ‘स्ट्रेट अफ हर्मुज’को व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति भएको इरानले आइतबार बताएपछि तेल बजारमा थप राहत देखिएको हो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीका अनुसार वार्ता दुवै देशको सार्वभौम अधिकारको सम्मान गर्दै ‘स्ट्रेट अफ हर्मुज’बाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने ‘साझा सिद्धान्त र सञ्चालन संयन्त्र’ निर्माणमा केन्द्रित थियो ।

सोमबार दुवै प्रमुख तेल सम्झौताको मूल्य घटेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य एक समय सात प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा तल झरेको थियो ।

नेसनल अस्ट्रेलिया बैङ्ककी स्याली अल्डले सप्ताहन्तमा मध्यपूर्वमा देखिएका घटनाक्रम सकारात्मक दिशामा अघि बढेको बताउँदै प्रतिब्यारेल १०० डलरभन्दा माथिको तेल मूल्यले दुवै पक्षलाई तनाव कम गर्ने दिशामा अघि बढ्न प्रेरित गर्ने धारणा बलियो बनेको उल्लेख गरे ।

तेलको मूल्य घटेसँगै मुद्रास्फीति पुनः बढ्ने तथा ब्याजदरमा थप वृद्धि हुने चिन्ता केही कम भएको छ । यसले अधिकांश एसियाली सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ ।

सम्बन्धित समाचार