काठमाडौं । काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। स्टोरबाट ग्राहकलाई दैनिक रूपमा नियमित सेवा प्रदान गरिने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिएका छन्।
भाटभटेनी सुपर मार्केट प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ठूलो क्षति व्यहोर्नुपरे पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि र कर्मचारीप्रतिको जिम्मेवारीलाई निरन्तरता दिएको बताएका छन्।
उनका अनुसार भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीलाई रोजगारीबाट अलग नगरी पुनः सञ्चालनमा आएका स्टोरहरूमा उनीहरूको भूमिकालाई निरन्तरता दिइएको छ।
गुरुङले कम्पनीले विपद्को कठिन परिस्थितिमा पनि राज्य, कर्मचारी तथा ग्राहकप्रतिको दायित्वलाई प्राथमिकतामा राख्दै पुनर्निर्माणको काम अघि बढाएको बताएका छन्। उनले आगजनीबाट क्षतिग्रस्त स्टोरहरूलाई ‘खरानीबाट फेरि उठाउने’ संकल्पसहित पुनर्निर्माण अघि बढाइएको उल्लेख गरेका छन्।
उनका अनुसार आगजनीपछि तातो खरानी, फलाम र इँटा पन्छाउँदै एक साताभित्रै पुनर्निर्माणको काम सुरु गरिएको थियो। आगजनी भएको पाँच महिनामै पूर्ण रूपमा जलेको कोटेश्वरस्थित स्टोरसमेत पुनः सञ्चालनमा ल्याइएको उनले बताए।
आगजनीबाट ध्वस्त भएका १२ वटा स्टोरमध्ये हालसम्म १० वटा पुनः सञ्चालनमा ल्याइसकिएको कम्पनीले जनाएको छ। बाँकी दुई स्टोर पनि पुनर्निर्माणको अन्तिम चरणमा पुगेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
दमक र हेटौंडास्थित स्टोरमा भने आवश्यक संरचनागत निर्माण, उपकरण व्यवस्थापन तथा आन्तरिक निर्माणको काम जारी रहेको कम्पनीले जनाएको छ। ती स्टोरबाट पनि ग्राहकलाई छिट्टै पुनः सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
कम्पनीका अनुसार पुनर्निर्माणका क्रममा संरचनाको गुणस्तर र दीर्घकालीन सञ्चालनलाई विशेष प्राथमिकता दिइएको छ। पूर्ण रूपमा आगजनी भएका स्टोरको पुनर्निर्माणमा ठूलो समय, स्रोत र लगानी आवश्यक पर्ने भए पनि चौबीसै घण्टा कामलाई निरन्तरता दिँदै ग्राहकलाई पुनः सेवा उपलब्ध गराउने प्रयास गरिएको कम्पनीले जनाएको छ।